काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव नेपालबीच वार्ता भएको छ। कोटेश्वरस्थित एक व्यवसायीको घरमा दुई नेताबीच वार्ता भएको हो।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव पक्षको माग बमोजिम २०७५ जेठ ३ मा फर्किन तयार रहेको प्रतिवद्धतासहित एकताको अपिल गरेपछि भएको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ।
स्रोतका अनुसार आफू अल्पमत परेर कमजोर भएपछि ओलीले फेरि फसाउनका लागि यस्तो फन्डा रचेको निश्कर्ष निकाल्दै ओलीको जालझेलमा अब नअलमलिने माधवले बताएका छन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताको आह्वान गरेका छन्। जसका लागि प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका छन्। नेताहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही नगरिने प्रतिबद्धता ओलीले जनाएका छन्।
यता वरिष्ठ नेताद्वय माधवकुमार नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको थियो। उक्त समूहको मागअनुसार ओलीले प्रस्ताव गरेका हुन्। एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकीकरण भई नेकपा गठन भएको थियो। तर, सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त एकीकरण बदर गर्दै साविक पार्टी ब्युँउताउने फैसला सुनाएको थियो।
नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ। २०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो।

