काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको अवसरमा कडा सन्देश दिएका छन्। भारत–चीनबीच लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने समझदारी नेपालकै सार्वभौमिकतामाथिको अतिक्रमण भएको उल्लेख गर्दै बालेनले प्रधानमन्त्रीलाई चीनसँग स्पष्ट अडान लिन आग्रह गरेका हुन्।
बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई शुभकामना दिँदै लेखेका छन्, “नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथि चोट पुगेको छ। लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोस्। हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।”
प्रधानमन्त्री ओली हाल शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ। यसै सन्दर्भमा बालेनको सन्देशलाई जनस्तरमा राष्ट्रिय स्वाभिमान र सीमा मुद्दा उठाउने बलियो आवाजका रूपमा लिइएको छ।

