काठमाण्डौ । लगातारको वर्षापछि बन्द भएका नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बिहान ६ बजेबाट दुबै सडकखण्डमा यातायात सेवा पुनः सुचारु भएपछि रोकिएका सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यतर्फ लाग्न थालेका छन्।
गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि आइतबार राति ९ बजेपछि सो सडकखण्डमा आवतजावत रोकिएको थियो। तर, पहिरो जोखिम न्यूनीकरण र मर्मतपछिका सुरक्षा मूल्याङ्कनपछि आजदेखि सवारी सञ्चालनलाई अनुमति दिइएको हो।
यसअघि सडक अवरुद्ध हुँदा जिल्लाका १४ स्थानमा बनाइएका अस्थायी विश्राम कक्ष (होल्डिङ सेन्टर)मा रोकिएका सवारी साधनहरू क्रमशः गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।