नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुनै सहमति नभएको बताएका छन्। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको आरोप लगाएका थिए। प्रचण्डले बिहीबार एक वक्तव्य जारी गर्दै ओलीलाई सो आरोप पुष्टि गर्नसमेत चुनौती दिएका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्। म केपी ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु’ प्रचण्डले विज्ञप्तिमा भनेका छन्।
ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप उनले लगाएका छन्। साथै उनले सेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफू सधैं लगानीकर्ताको हितका पक्षमा रहेको बताएका छन्।

