सरकारले आजबाट सबै (७ वटै) प्रदेशका ५७ वटा जिल्लामा बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिन लागिएको हो । ३ वटा प्रदेशका ८ वटा जिल्लामा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ ।
ती ८ जिल्लामा वागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
आजबाट शुरू हुने अभियानको शुभारम्भ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवाडाले हेटौंडा उप–महानगरपालिकाको भुटनदेवी माध्यमिक विद्यालयबाट आज बिहान १० बजे गर्ने तय भएको छ ।
डा. मिश्रका अनुसार यसअघि फाइजर खोप दिएका जिल्लामा सोही खोप र अन्यमा मोर्डना खोप लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२ जिल्लामा दोस्रो चरणको फाइजर खोप अभियान चलाउने भएको छ ।
फाइजर खोप सञ्चालन हुने १२ जिल्लामा प्रदेश–१ को झापा, मोरङ र सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र वागलुङ, लुम्बिनी प्रदेशको रूपन्देही वागलुङ, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ वटा जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जिल्लास्थित जनस्वास्थ्य कार्यालयसंगको समन्वयमा स्थानीय तहले विद्यालयका प्रधानध्यापकसँग समन्वय गरी तथ्यांक संकलन गरी खोप लगाइने जनाएको छ । थोरै विद्यार्थी भएका विद्यालयमा केही विद्यालयसमेत जोडेर एउटैमा र २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा केन्द्र कायम गरी खोप दिइनेछ ।
आजबाट अभियान शुरू हुने जिल्लामा प्रदेश–१ को ११, प्रदेश २ को ५, वागमतीको ७, गण्डकी, लुम्बिनी र कर्णालीको प्रदेशको ९–९ र सुदूरपश्चिम प्रदेशको ७ वटा गरी ५७ जिल्ला रहेका छन् ।

