तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
पौरस्त्य दर्शन परम्परामा प्रयोगमूलक र प्रागनुभव ज्ञानका आधारमा प्रकृति, ईश्वर, जीवन,जगत्, वस्त ुर चेतनाको विवेचना, विश्लेषण, सुख शान्तिको खोजी गर्ने र सुखको मूलकारण ज्ञान वा विद्यामा देख्ने ज्ञानशास्त्र दर्शन हो । ज्ञानको प्रकृति, ज्ञान सम्बन्धि निष्कर्षात्मक अवधारणा युक्त नयाँ दिशानिर्देश विश्व दृष्टिकोण वा बुद्धि र ज्ञानको स्रोत नै दर्शन हो ।संसारलाई हेर्ने, बुझ्ने र फेर्ने ज्ञान विशिष्टताको चिन्तनलाई पाश्चात्य परम्परामा जस्तै पौरस्त्य परम्परामा पनि स्वीकारिएका छन
वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । यो हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। भाषाको “विद्“ धातु बाट वेद बनेको हो जसको अर्थ होः जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । प्राचीन जम्बुद्वीप अर्थात वर्तमान दक्षीण एसिया क्षेत्रमा सृजीत ज्ञान भण्डार एवं मानव ज्ञानको प्राचीनतम श्रोत ग्रन्थहरूको एक ठुलो समूह वेद हो। वैदिक संस्कृतमा रचित, ग्रन्थहरू संस्कृत साहित्यको सबैभन्दा पुरानो तह र हिन्दु धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ हो।
नेपालको तनहुँ जिल्ला स्थीत व्याँस नगरपालीका क्षेत्रमा व्याँस ऋषीले चार वेद अठार पुराणको सम्पादन गरेका हुन । विभिन्न पुर्विय दर्शनहरू र हिन्दु सम्प्रदायहरूले वेदहरूमा फरक–फरक स्थानहरू लिएका छन्। वेदको महत्व वा प्राथमिक अधिकारलाई स्वीकार गर्ने पुर्विय दर्शनका विद्यालयहरूले विशेष रूपमा हिन्दु दर्शन समावेश गर्दछ र तिनीहरूलाई छ वटा आस्तिक पाठशालहरूको रूपमा वर्गीकृत गरिएको छ ।
वेदलाई श्रुति पनि भन्ने गरिन्छ किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्का बाट सुनेर सम्झना राखियो। प्राचीन तपस्वीहरू गहिरो तपस्यामा लीन भइरहेको समयमा यी मन्त्रहरू उनीहरूलाई स्वयं इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम इश्वरले चार जना ऋषिहरूलाई वेदको ज्ञान दिएः अग्नि, वायु, अंगिरा र आदित्य । यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक÷श्रुति = श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार–पाँच हजार वर्ष देखि चली आइ रहेको छ ।
वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।वेदान्त संहिताहरूमा अनेक प्रकारका प्राकृतिक देवहरूका स्तुति, नैतिक चारित्रिक शिक्षा उपदेश, पृथ्वी, जल, तेज, वायु, प्राण, आदित्यमय व्रह्म, आदिव्यमय पुरुष हिरण्य गर्भजस्ता अनेकौँ प्राकृतिक तŒवहरूको वर्णन पाइन्छ । वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो । यसमा मान्छेको हरेक समस्याको समाधान छ । यसमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ ।अग्नि, वायु, सूर्य, त्रिदेवतासँगै अग्नितŒव, पृथ्वीमाता, गौमाता र धुलोक (आकाश÷स्वर्ग) जल, वनस्पति सम्बन्धित अनेक सूक्तिहरू , अहिंसा सम्बद्ध, माधुर्य सम्बद्ध सूत्र, अभय शत्रुशून्यता ,विजय दीर्घायु अमरता, गति, क्रियाशीलता, प्रयावरणीय सुखशान्ति, प्रकृतिपूजा, सुनति, सत्बुद्धि, सत्मार्ग,चारित्रिक शुद्धता, गृहस्थ जीवनपद्धति मैत्री बन्धुत्व नारीसम्बद्ध सूत्र, विश्ववन्धुत्व राष्ट्रियता, सामाजिक सुख आनन्द सौभाग्य, साँस्कृतिक व्यवहारिक शैक्षिक उपयोगिता आदि सम्बद्ध सूत्रहरू वेदका अन्तर्यहरू हुन् । व्राह्मण ग्रन्थका मूल प्रतिपाद्य यज्ञ र समर्पण भाव, उपनिषद्का मूल प्रतिपाद्य ब्रह्म विद्या र अविद्याका विविध अर्थ, संहिताका प्रधान्य र प्राकृतिक तŒव (अग्नि, वायु, सूर्य) वर्णन, पूजा आत्मवर्णन आदि वेदका मुख्य अन्तरवस्तु हुन् । वेद–वेदाङ्गका अन्तरसम्बन्ध युवा युवतीको विवाहयोग्य उमेर, सतीप्रथा र गरुडपुराण, पद्मपुराण, रुद्रतारा, विष्णु पुराण, आदि पुराणहरूका (वेद–वेदाङ्ग, उपाङ्गहरूका) आधार वेद संहिता नै मानिन्छ ।
द्वापरयुगको समाप्तिको समयमा श्रीकृष्णद्वैपायन वेदव्यास जीले यज्ञानुष्ठानको उपयोगलाई दृष्टिगत उन एक वेदको चार विभाग गरे र यिनी चारै विभागहरूको शिक्षा चार शिष्यहरूलाई दिए। यो नै चार विभाग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको नामले प्रसिद्ध छ । पैल, वैशम्पायन, जैमिनि र सुमन्तु नामक – यिनी चार शिष्यहरूले शाकल आदि आफ्नो भिन्न–भिन्न शिष्यहरूलाई पढाए। यि शिष्यहरू द्वारा आफ्नो–आफ्नो अधीत वेदहरूको प्रचार तथा संरक्षणको कारण उनी शाखाहरू तिनैको नामले प्रसिद्ध भइ रहेको छ।
हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म–ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो ।धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदको असाधारण महत्व रहेको छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो ।मानव–जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ ।विश्व वाङ्मयमा यिनिहरूभन्दा प्राचीनतम कुनै पुस्तक छैन।
आर्य–भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक चिन्तन सहायक सिद्ध भएको छ । वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन मानव सभ्यताकै सबैभन्दा पुरानो ग्रन्थ पनि यही हो । वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेज हो । वेदका २८ हजार पाण्डुलिपिहरू भारतको पुणे स्थित भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् ।
वेद वैदिककालीन वाचिक परम्पराको अनुपम कृति हो जुन पछिल्लोसात हजार इसा पूर्वबाट चलिरहेको छ । विद्वानहरूले संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् यी चारको संयोगलाई वेद भनेका छन् । यी चार भागलाई संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदको संहिता भनेको मन्त्र भाग हो । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदको सस्वर पाठ गर्छन् त्यो सुनेर चित्त प्रफुल्ल हुन्छ। जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् । वेदको ब्राह्मण भागमा यज्ञको बारेमा चर्चा गरिएको छ । यसमा वेदका मन्त्रहरूको व्याख्या गरिएको छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ ।
मुख्य ब्राह्मण ग्रन्थहरू ऐतरेय, तैत्तिरीय र शतपथ हुन् । आरण्यक वेदको एक महत्वपूर्ण हिस्सा हो । संस्कृतमा वनलाई अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै आरण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य आरण्यकमा ऐतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार रहेका छन् । । उपनिषद वेदको शीर्ष भाग हो । साथै उपनिषद वेदको सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलाई वेदान्त पनि भनिन्छ । यसमा इश्वर, सृष्टि र आत्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक चिन्तन गरिएको छ । उपनिषदहरूको वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद्हरुमा ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, ऐतरेय, छान्दोग्य,बृहदारण्यक र श्वेताश्वेर रहेका छन् । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषदहरू लोप भइसकेका छन् । हाल आएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका सोह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् ।
वेदको रचना कुनै एक निश्चित कालखण्डमा भएको होइन । यो बिस्तारै बिस्तारै रचना हुँदै गयो र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियो जसमा ऋग्वेद, सामवेद र यजुर्वेदको संकलन भयो । यसलाई वेदत्रयी भनिन्छ । सनातन मान्यता अनुसार वेदको विभाजन भगवान रामचन्द्रको जन्मपूर्व पुरूरवा ऋषिको समयमा भएको हो । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदको रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णको समय द्वापर युगको समाप्तिपछि महर्षि वेदव्यासले वेदलाई चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् । उनले यी चार भागको शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलाई दिए । त्यस क्रममा उनले पैलाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनीलाई सामवेद तथा सुमन्तुलाई अथर्ववेदको जिम्मेवारी दिए । वेदका ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार विभाग छन । ऋग–स्थिति, यजु–रूपान्तरण, साम–गतिशील र अथर्व–जड । ऋक भनेको धर्म, यजुः भनेको मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको हो ।
ऋग्वेद
ऋक अर्थात् स्थिति र ज्ञान । यसमा १० मण्डल र १०२८ ऋचाहरू रहेका छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन पाइन्छ । यसमा शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन गरी ५शाखाहरू छन् । यसमा होतृवर्गको लागि उपयोगी मन्त्रहरूको संकलन छ। यसमा ‘ऋक्संज्ञक (पद्यबद्ध) मन्त्रहरूको अधिकताको कारण यसको नाम ऋग्वेद भयो। यसमा होतृवर्गको उपयोगी गद्यात्मक (यजुः) स्वरूपको पनि केही मन्त्र छन्।
यजुर्वेद
यजुर्वेदको अर्थ ः यत् + जु = यजु । यत् को अर्थ हो गतिशील तथा जु को अर्थ हो आकाश । यसको अलावा कर्म। श्रेष्ठतम कर्मको प्रेरणा । यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय रहेका छन् । यस वेदमा धेरैजसो यज्ञका मन्त्रहरू छन् । यज्ञको अलावा तत्वज्ञानको वर्णन छ । यजुर्वेदका कृष्ण र शुक्ल गरी दुई शाखाहरू रहेका छन। यसमा यज्ञानुष्ठान सम्बन्धी अध्वर्युवर्गको उपयोगी मन्त्रहरूको संकलन छ। यसमा ‘गद्यात्मक मन्त्रोंको अधिकताको कारण यसको नाम ‘यजुर्वेद रहेको छ। यसमा केही पद्यबद्ध, मन्त्र पनि छन्, जुन अध्वर्युवर्गको उपयोगी छन्। यजुर्वेदको शुक्लयजुर्वेद र कृष्णयजुर्वेद गरी दुई विभाग रहेका छन ।
सामवेद
साम अर्थात रूपान्तरण र संगीत । सौम्यता र उपासना । यसमा १८७५ (१८२४) मन्त्रहरू छन् । यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन् । यस संहिताका सबै मन्त्र संगीतमय छन्, गेय छन् । यसमा मुख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलाई समावेश गरिएको छ । यसमा यज्ञानुष्ठानको उद्गातृवर्गको उपयोगी मन्त्रहरूको संकलन छ। यसमा गाईन पद्धतिको निश्चित मन्त्र भएको कारण यसको नाम सामवेद हो।
अथर्ववेद
थर्व को अर्थ हो कम्पन र अथर्व को अर्थ अकम्पन भन्ने बुझिन्छ । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर मोक्ष धारण गर्दछ भन्ने अथर्ववेदको मुख्य अभिप्राय रहेको पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याको पनि वर्णन पाइन्छ । उपरोक्त सबैमा परमात्मा, प्रकृति र आत्माको विशद वर्णन र स्तुतिगान गरिएको छ । यसबाहेक वेदहरूमा आफ्नो समयका महापुरूषहरूको महिमा, गुणगान एवं उक्त समयको सामाजिक,राजनीतिक तथा भौगोलिक अवस्थाको वर्णन पनि पाइन्छ । यसमा यज्ञानुष्ठानको ब्रह्मवर्गको उपयोगी मन्त्रहरूको संकलन छ। अथर्वको अर्थ छ कमिहरूलाई हटाएर ठीक गर्नु या कमी–रहित बनाउनु। अतः यसमा यज्ञ–सम्बन्धी एवं व्यक्ति सम्बन्धी सुधार या कमी–पूर्ति गर्ने मन्त्र पनि छ। यसमा पद्यात्मक मन्त्रहरू सँग केही गद्यात्मक मन्त्र पनि उपलब्ध छन्। यस वेदको नामकरण अन्य वेदहरूको भाँति शब्द–शैलीको आधारमा छैन, अपितु यसको प्रतिपाद्य विषयको अनुसार छ। यस वैदिक शब्दराशिको प्रचार एवं प्रयोग मुख्यतः अथर्व नामको महर्षि द्वारा गरियो। यसैले पनि यसको नाम अथर्ववेद रहेको छ।
छ वेदाङ्ग
चार वेद बाहेक वेदका निम्नलिखित छ अंग मानिन्छन् १. शिक्षा २.कल्प ३. व्याकरण ४.निरुक्त ५. ज्योतिष ६. छन्द जसरी शरीरका लागि आंखा, कान, नाक, मुख हात, खुट्टा हुन्छन्, त्यसै गरी वेदका लागि ज्योतिष आंखा, कान निरुक्त, मुख व्याकरण, हात कल्प, र गोडा छन्द हुन् । उच्चारणको सम्बन्धमा दिइएका उपदेश शिक्षा हुन्, यज्ञयागादि कर्म सम्बन्धी उपदेश कल्प हुन्, शब्दहरुका बारेमा गरिएका विचार व्याकरण हुन्, शब्दको व्युत्पत्ति र अर्थका बारेमा गरिएका विचार निरुक्त हुन् । यज्ञयागादि गर्नलागि ठीक समयको बारेमा गरिएका विचार ज्योतिष हुन्, काव्यमा अक्षर र विराम बारेको ज्ञानलाई छन्द भनिन्छ ।
छ उपांग
वेदहरूको सर्वांगीण अनुशीलनको लागि उपांग ग्रन्थ छन्। प्रतिपदसूत्र, अनुपद, छन्दोभाषा (प्रातिशाख्य), धर्मशास्त्र, न्याय तथा वैशेषिक– यो ६ उपांग ग्रन्थ हुन् ।
वेदको पठन–पाठनको क्रममा गुरुमुख देखि श्रवण एवं सम्झना गर्ने वेदको संरक्षण एवं सफलताको दृष्टिले अत्यन्त महत्त्व छ। त्यहि कारण वेद लाई ‘श्रुति पनि भन्छन्। वेद परिश्रमपूर्वक अभ्यासद्वारा संरक्षणीय छ, यस कारण यसको नाम ‘आम्नाय पनि हो।ज्ञानामृतम् – वेद, अरण्य उपवेदलाई वेदका अंग मानिन्छ । वेदको समुचित ज्ञानका लागि उपनिषद्, स्मृति, ब्राह्मण ग्रन्थ जस्तै उपवेदहरुको आवश्यकता पर्छ । उदाहरणका लागि गान्धर्ववेदको ज्ञान बिना सामवेदलाई बुझ्न सकिंदैन । किनभने सामवेद भनेको संगीत वेद हो । चार वेदका चार उपवेद हुन्छन् । यी उपवेद पनि वेदका अंग मानिन्छन् । चार उपवेद धनुर्वेद,गान्धर्ववेद,आयुर्वेद,अर्थवेद रहेका छन् ।

