स्वयम्भू शाक्य
जिन्दगीमा पालन–पोषण विना कुनै पनि बच्चा हुर्किन सक्दैन । यो कुरो सत्य हो , जीवनको लागि यो नै आवश्यक छ । जन्म र मृत्युको दोभानमा यौटा जिन्दगी रहेछ । यो जिन्दगी भित्र के छ के छैन हालसम्म कसैले भन्न सकेको छैन । यो आत्मा त अमर छ । आखीर मर्ने त शरीर हो । त्यसैले कसैको भरण–पोषणको सूचनाका निम्ति युगकवि सिद्धिचरण श्रेष्ठले यौटा लामो जति बुझे पनि बुझ्न नसक्ने जटिल सूचना प्रवाह गरेको छ । जन्मने मर्छ तर ढुङ्गा त कहिल्यै मर्दैन । टुक्रा टुक्रा भएर धुलो हुन सक्ला । वर्षौ वर्ष बितेर धुलो फेरी ढुङ्गा बन्न सक्ला । तर ढुङ्गो कहिल्यै मर्दैन । किनकि ढुङ्गामा प्राण छैन । अलौकीक शक्तिको बास छैन । हिँड्डुल गर्ने हात–खुट्टा छैन । त्यसैले ढुङ्गा चाहेर पनि कहिल्यै मर्न सक्दैन ।
जन्म, शरीर धारण गर्ने एक रूप हो । जब आत्माको जन्म हुन्छ तब त्यस बेलादेखि भोक, निद्रा, भय र मैथुनको पनि जन्म हुन्छ । फरक यति हो कि मान्छेमा विवेकको जन्म हुनुपर्छ । जब मानवीय गुण हराउँछ अनि ऊ दानब भएर निस्किन्छ । त्यसैले विवेक अपरिहार्य छ । मनुष्य जाती हेर्दा सबै उस्तै भए पनि यज्ञरूपी ज्ञानको अभाबले मान्छे–मान्छेमा पनि धेरै फरक छ । मनुष्यको व्यवहारमा विवेकको अभाबले होला यो भवसागरमा धेरै युद्ध भैसकेका छन् । अब कति हुनु बाँकी छ ? अब कति मान्छे मर्नु बाँकी छ ? यो त विवेकमा निर्भर रहने कुरो हो । यो त मानवीय गुणले निर्धारण गर्ने कुरो हो ।
जो जन्मिन्छ उही एक दिन मर्नु पर्छ । मर्नका निम्ति जिउँदो मान्छेले कहिल्यै नसुन्ने टाढाबाट बाजा बजाएको हुनुपर्छ । यमलोकबाट यमदूत आएर मान्छेको प्राण बोकेर गएको हुनुपर्छ । माया ममतालाई लुछी–लुछी टुक्रा–टुक्रा पारेर चुडालेर लगेको हुनुपर्छ । तब मात्र मान्छे मर्न सक्छ । आत्मा र शरीर अलग भएपछि मात्र मान्छेको मृत्यु हुने गरिन्छ । त्यसैले मृत्यु अलौकिक छ । आत्मा र परमात्माको मिलन हुने ठाउँ भएकोले यो साक्षात्कारको बाटो हो । मोक्षको मार्ग हो । आनन्दको पर्व हो । जीवनको परीक्षा हो । रहस्यको विषय हो । कर्मको फल पाउने समय हो । भगवान्को निमन्त्रणा हो । जिन्दगीको उत्तर पुस्तिका हो । सत्यको निसानी हो । जीवनको महत्व बुझाउने ठाउँ हो । आत्मा हिँड्ने बाटो हो । त्यसैले जसले मृत्युलाई चिन्न सक्छ उसले मृत्युदेखि कहिल्यै डराउँदैन । जसले मृत्युलाई चिन्नै सक्दैन उसको मनमा लोभ र पापले मृत्युदेखि सधैं डराई रहन्छ । अतः मान्छे बाँच्नु ठूलो कुरो होइन कसरी मर्छ त्यो ठूलो कुरो हो । जीवन र मृत्युको नातामा धेरै वर्षदेखि गहिरो सम्बन्ध छ । जीवन शुन्य भएकोले शुन्यमा अस्ताउने छ । त्यसैले मृत्यु अमूर्त, अदृश्य र निराकार भएकोले मान्छे ले जिउँनको लागि पाप र धर्म के हो आफ्नै मनले सोध्नु पर्छ । मृत्युको निम्ति सधैं तयार भएर बस्नु पर्छ । यो नश्वर शरीरको अस्तित्व कुनै पनि बेला समाप्त हुन सक्छ भनी सोच्नु पर्छ । यो शरीरमात्र होइन छायाँलाई पनि छोडेर जन्म कुण्डली चित्तामा जलाउँनु पर्छ । हो, मृत्यु र जीवन सँगसँगै हिँडेर जान्दो रहेछ । जीवनको समाप्ती पछि यो हाम्रो शरीरले विश्राम लिन्दो रहेछ । थाहा छैन, कर्मको फल कसरी पाउने हो ? यो रहस्यमय विषयमा उसैलाई मात्र थाहा हुन सक्छ, जो जन्मेर मर्ने गर्छ ।
कसैको भरणको लिई सूचना यो
कसैले उता दूर बाजा बजायो ।
मा¥यो आज कोही, लुछी मोह माया
डुब्यो मूर्ति छाडी यहाँ एक छायाँ ।
मान्छेले चाहेको बेला काल त्यसै कहाँ आउन्छ र ? यो त भगवान्ले भाग्यरेखा कोर्दा कालको तिथिमिति तोकेर होला त्यही तिथिमितिमा काल आएर हाम्रो प्राण लिएर जान्दो रहेछ । यो भवसागर भन्दा धेरै पर यमलोकमा राखेर आत्माले बितेका कुराहरूको केरकार पछि स्वर्ग र नर्कमा पठाउँने रहेछ । त्यसैले होला, आज युगकवि सिद्धिचरण श्रेष्ठको मनमा साथीभाइहरू कति हिँडिसके तर आपूmले केहि गर्न नसकेर त्यसै बाँचिरहेकोमा पश्चाताप गर्दैछ । धेरै सपनाहरू साँचेर होला आँखाले देख्न नसक्ने शुष्म धुलोको कण–कणमा ब्याप्त छ । उनीहरू कहाँ पुगिसके होला म त यही बसेर कहिल्य हाँस्दैछु, कहिले रुन्दैछु । पागल जस्तो मनमा आगो र पानी उम्लेर होला यो जीवनमा चाहेर पनि काल नआएर जिउँदो लाश भएर बाँच्नु परेकोमा दुःखी छु ।
आखीर मान्छे धुलोको कण न हो । हावाले उडाएर इच्छा नभएको ठाउँमा पु¥याउँन सक्छ । मन रोएर के गर्नु ? मन हाँसेर के गर्नु ? रुनु र हाँस्नु जीवनको संगम हो भनी एक्लै टोलाएर बस्नुमा ठूलो बुद्धिमानी रहने छ । म त यो भवसागरमा काम गर्न आएको मान्छे हुँ । यहाँ जे बनाउनु छ मेरो जिन्दगीभर जति सकिन्छ त्यति बनाएर जाने मेरो चाहना छ । तर खै यहाँ त केही बुझ्नै सकिएन । के बनाउँने हो ? के भत्काउने हो ? केही थाहा नपाएर रनभूल्लमा परिरहेछु । त्यसैले यो भवसागरमा बसेर म के गरुँ ? बरु साथीभाइसँग जान पाएको भए आनन्द आउँथ्यो । ताकी मैले यो भवसागरमा बसेर रुनु, हाँस्नु र सोच्नु बाहेक केही गर्न नसकेर म–मभित्रै मरिरहेछु ।
गयो जानुपर्ने म बाँचिरहेछु
फुटेको धुलो स्वप्न साँचिरहेछु
म हाँसिरहेछु म रोईरहेछु
गएको कुनैलाई सोचिरहेछु ।
सपनामा बाँच्नेहरूको आफ्नै कथा र ब्यथा छ । यौटा सपनाले जन्म लिईसकेपछि सपनामै जिन्दगी बिताउनु सबै सपनाहरूको रहर हुनु स्वभाविक हो । तर किन हो कुन्नी सपना–सपनाभित्र हुर्किन गा¥हो भएर चोटले होला , हिजोआज ठूलो वज्रपात हुने गरेको छ । असिना पसिना हुने गरी एक छिनमा ठूलो आँधीबेहरी आउने वाला छ । दुःखै दुःखको यो सागरमा बाँचेर ओठ मुखहरू निलोकालो भईसकेको छ । सपना सपनामा लीन भएर सपनाहरू सबै मरिसकेको छ । त्यसैले यो भवसागरमा मर्नु भन्दा जिउँनु धेरै गा¥हो रहेछ । आँखाले हेर्न नचाहेको हेर्न सक्नु पर्छ । कानले अप्रिय कुराहरू मात्र सुन्न सक्नु पर्छ । मुखले नचाहेको कुरा मात्र भन्न सक्नु पर्ने रहेछ । मन र मस्तिष्कमा सोच्नै नसक्ने कुरा मात्र सोच्न सक्नु पर्ने रहेछ । त्यसैले गा¥हो छ । गा¥होभित्र यो भवसागरमा धेरै कुराहरू लुकेर बसेको रहेछ । भन्न नसकिने, बुझ्न नसकिने, हेर्न नसकिने र सोच्न नसक्ने थुप्रै कुराहरूले यो मन भारी भएर बाँच्नु भन्दा मर्नु नै सजिलो रहेछ । त्यसैले जो जन्मिन्छ उही मर्ने गरिन्छ । जो मर्छ उही जन्मिने गर्छ ।
प्रकट भै कुनै एउटा स्वप्नबाट
गयो त्यो यहाँ गरी वज्रपात
गएको कुरा स्वप्नमै लीन हुन्छ
नरोऊ यहाँ जन्मने जति मर्छ ।
मर्नुका निम्ति जन्मिनु पर्छ । जन्मनुको निम्ति मर्नु पर्छ । यो त आकाश र धरती जस्तो, दिन र रात जस्तो, उज्यालो र अँध्यारो जस्तो र देह र छायाँ जस्तो सँग सँगै हिडेर आजसम्म कतिले जन्म पाइसकेको छ । आजसम्म कतिले मर्न भ्याई सकेको छ । यो भवसागरमा सृष्टिदेखि मनुष्यले कति सुख र दुःख भोगिसकेको छ । मान्छे आ–आफ्नो जीवनमा कसरी बाँचिरहेको छ । यो त ईश्वरलाई थाहा होला । हामीलाई त के थाहा ? यौटा सानो धुलोको कणले यो ब्रह्माण्डको कुरो कसरी बुझ्न सकिन्छ ? सपना जस्तो सपनामैं वज्रपात भएर सपना मरिसकेपछि विपनामा मान्छेले के गर्न सकिन्छ ? रुनु–रुवाउँनु, हाँस्नु–हँसाउनु यो त संसारको नियम हो । आज तिमी हाँसिरहेछौं । भोलि अवश्य एक दिन रुनु पर्ने छ । आज म रोईरहेको छु । भोलि एक छिनको लागि भए पनि भगवान्ले मलाई हँसाउँने छ । आखीर शुन्य न हो । शुन्यबाट पलाएकाहरू सबै एक दिन शुन्य भएर जाने छ । अनित्यमा बाँचिएकाहरू सबै एकदिन नासिएर जाने छ । ढुङ्गाको के कुरा एक दिन ढुङ्गा पनि धुलो भएर जाने छ । को, कहाँ, कसरी, के भैरहेको छ । यो भवसागरको नियममा समयले आपैंm चलाई रहेको छ । त्यसैले बाँच्ने मान्छे एक दिन मर्नु पर्छ । हिजो बा–आमाहरू रोए होला आज मेरो लागि मेरो सन्तानहरू रुने छ । समयले बिस्तारै उनीहरूले पनि बिर्सिने छ । एक दिन उनीहरूका लागि पनि रुने अर्को सन्तान पर्खेर बस्ने छ ।

