सर्लाही, पुस १ गते । सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो ।
आगलागीबाट जलेर गम्भीर घाईते भएका उनीहरुलाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौंतर्फ लैजाँदै गर्दा बिहीबार बिहान ३ बजेतिर बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले जानकारी दिए । आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी पनि घाईते छिन् ।
सामान्य घाईते सुधा भने स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेकी छिन् । प्रहरीका अनुसार बुधबार राती ९:१५ बजेतिर अतिविपन्न चमार परिवारको घरमा आगलागी भएको हो ।
आगलागी गाउँले र प्रहरी मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट दुई सन्तान गुमाएको चमार परिवार घर समेत जलेर खरानी भएपछि बिचल्लीमा परेको छ । पीडितको खुला आकाशमुनी बास भएको छ ।
