काठमाण्डौ । नेपालको अर्थतन्त्रमा आर्थिक वर्ष २०८१/८२ ले केही सकारात्मक संकेतहरू देखाएको छ। यस वर्ष कुल सरकारी खर्च र राजस्व सङ्कलन दुवैमा उल्लेखनीय वृद्धि भएको छ।
सरकारी खर्च र राजस्वमा वृद्धि
आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब आठ अर्ब २३ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १४ खर्ब आठ अर्ब ७६ करोडभन्दा बढी हो। यो वर्ष वार्षिक लक्ष्यको ८१.८७ प्रतिशत खर्च भएको छ।
चालु खर्च: कुल बजेटको ८५.९५ प्रतिशत (नौ खर्ब ८० अर्ब ३८ करोड)।
पुँजीगत खर्च: कुल बजेटको ६३.२ प्रतिशत (दुई खर्ब २२ अर्ब ६८ करोड)। यो अघिल्लो वर्षभन्दा १६.१५ प्रतिशत बढी हो।
वित्तीय व्यवस्था: कुल बजेटको ८७.८७ प्रतिशत (तीन खर्ब २० अर्ब चार करोड)।
राजस्व सङ्कलन पनि बढेको छ। २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको १० खर्ब ३० अर्ब ३४ करोडभन्दा १४.४१ प्रतिशत बढी हो। यसमा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले बढेको छ।
व्यापार घाटामा सुधारको संकेत
आयात र निर्यात दुवैमा वृद्धि भएको छ, तर व्यापार घाटा भने अझै ठूलो छ।
यो आर्थिक बर्षको कुल आयात १८ खर्ब चार अर्ब १२ करोड रहेको छ । यो अघिल्लो वर्षभन्दा १३.३ प्रतिशत बढी हो । त्यसैगरी
कुल निर्यात दुई खर्ब ७७ अर्ब तीन करोडको रहेको छ । यो अघिल्लो वर्षभन्दा ८१.८ प्रतिशत बढी हो।
यसले गर्दा कुल व्यापार घाटा १५ खर्ब २७ अर्ब नौ करोड पुगेको छ।
यद्यपि निर्यातमा भएको उच्च वृद्धिले भविष्यमा व्यापार सन्तुलनमा केही सुधार हुने संकेत देखिएको विज्ञहरूको मत छ।

