त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरुमा एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम , ३० वर्षीय तौहिदुल तनविर र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन्। पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।
हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ हुँदै मंगलबार बंगलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त धातु फेला परेपछि नियन्त्रणमा लिइएको हो।
