काठमाण्डौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीयता विरोधी नभएको तर नेपालमा संघीयता आवश्यक नभएको बताएका छन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले आफू संघीय प्रणालीविरोधी नभएको दावी गरेका छन्।
शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालमा संविधान निर्माण गर्दा राजीखुशीले संघीयता स्वीकार नगरिएको बताए। उनले अहिले नेपाली जनतालाई प्रदेश आवश्यक नभएको बताए।
प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उनले जिकिर गरे । नेता केसीले राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताए।
केसीले भने, ‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले हामीले संघीयता स्वीकार गरेका होइनौँ। म त्यो दुवै संविधानसभामा छु। प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइएको थियो। चित्रबहादुर संघीयताविरोधी हो रे। म किन हुने संघीयता विरोधी ? नेपालमा संघीयता सम्भव छैन।’
सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए ।

