मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा अपेक्षित हिमपात हुन सकेको छैन। गत कात्तिक महिनामा माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ तथा मुस्ताङ–डोल्पा सडकअन्तर्गत साङ्ता गाउँ आसपासमा बेमौसममा आशिंक हिमपात भएपनि त्यसले किसानलाई खासै राहत दिन सकेन।
सामान्यतया हिउँदयाममा पर्ने हिमपात किसानका लागि वरदान मानिन्छ। अनुकूल समयमा हिउँ परे अन्नबाली सप्रिने र उत्पादनमा वृद्धि हुने विश्वास गरिन्छ। तर, यस वर्ष पनि पुस महिना सकिँदासम्म मुस्ताङमा हिउँ पर्न नसकेको स्थानीयले बताए।
हिमाली क्षेत्रमा प्रायः पुस र माघ महिनामा नियमित रूपमा हिमपात हुने मान्यता रहे पनि पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण अनुकूल समयमा समेत हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताए।
उनका अनुसार यहाँका अधिकांश खेतीयोग्य जमिन र स्याउ बगैँचामा सिँचाइको व्यवस्था भए पनि माटोको उर्वराशक्ति बढाउन हिउँदयामको हिमपात अत्यावश्यक हुन्छ। हिउँ परेमा जमिनको भित्री तहसम्म चिस्यान पुगेर माटो पूर्णरूपमा रिचार्ज हुने र यसले स्याउ, उवा, फापर, जौ, मकै लगायतका अन्नबालीको गुणस्तर र उत्पादन बढाउन सहयोग पुग्ने थकालीको भनाइ छ।
हिउँदयाममा हिउँ नपरे जमिनको तापक्रम बढ्ने, रोग किरा तथा रोगको सङ्क्रमण फैलिने जोखिम बढ्ने उनले बताए। “हिउँ कृषि उत्पादनका लागि प्राकृतिक रोग प्रतिरोधात्मक अर्गानिक विषादीजस्तै हो,” थकालीले भने, “यसले मलको कामसमेत गर्ने भएकाले स्याउलगायतका अन्नबाली सप्रिन्छन्।”
हिमाली जिल्लामा प्रायः भदौ र असोजमा स्याउ खेतीको ‘पोष्ट हार्भेस्ट’ गरिन्छ। स्याउ भित्र्याएपछि उवा, जौ र फापरजस्ता बाली किसानले घर भित्र्याउने गर्दछन्। बगैँचामा स्याउ टिपिसकेर पात झरेपछि र हिउँदेबाली लगाउने समय पुस–माघमा अनिवार्य रूपमा हिमपात हुनुपर्ने प्राकृतिक चक्र भए पनि पछिल्लो तीन वर्षयता मुस्ताङमा पर्याप्त हिमपात हुन नसकेको घरपझोङका किसान अजित थकालीले जानकारी दिए।
उनका अनुसार स्याउ बगैँचा व्यवस्थापन भइरहँदा परेको हिमपातले किसानलाई ठूलो फाइदा पुर्याउने भए पनि हिउँ नपर्दा नदी–खोलाको पानी प्रयोग गरेर सिँचाइ गर्नुपरेको छ। यसरी सिँचाइ गर्दा अन्नबालीमा रोगकीराको प्रकोप बढेको र यसले किसानको चिन्ता झनै बढाएको थकालीले बताए।

