तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
मानव मन अत्यन्त चञ्चल छ । जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा लिन सक्दैन ऊ आफ्नो निश्चित लक्ष्यसम्म कदापि पुग्न सक्दैन । मनलाई चञ्चल बनाई राख्ने उसका भावना तथा विचार हुन्छन् । यी भावना तथा विचार स्थिर भएपछि मात्र मानिसको अन्तर मनले काम गर्न थाल्छ । मनलाई अस्थिर राख्न उत्प्रेरित गर्ने कारक तत्वहरू मध्ये मुख्य जड तत्व उसको इच्छा हो । यसले विचार तथा भावनाहरूलाई विचलित गरिदिन्छ र मन स्थिर रहन दिदैंन । त्यस कारण मानिसले पहिला इच्छालाई नियन्त्रणमा लिने उपायबारे सोच्नु आवश्यक हुन्छ ।
मनको चञ्चलता मानिसको स्वभाव जन्य गुण हो, यसलाई स्थिर राख्न सक्नु उसको दिव्य स्वभाव हो । आफूभित्र त्यस दिव्यताको अनुभूति गर्न सबैभन्दा पहिले मानिसले वाधा अड्चन फुकाउनु पर्छ जसले उसको मनलाई स्थिर हुनुबाट रोकिराखेका छन् । मनलाई स्थिर हुन नदिने मुख्य कारक तत्व इच्छा हो । एक इच्छा पूर्ण हुन्छ अर्को थपिदैं जान्छ ।मनमा उठेका खराब संवेगहरुलाई शारीरिक व्यायाम, योग, सहयोगी र सुरक्षाको भाव, ध्यानले कम गर्न सकिन्छ। त्यस्तै नकारात्मक प्रकृतिका कुराकानीबाट जोगिने, आफूलाई स्थिर राखी उत्साही बन्ने प्रयासको अभ्यास पनि धेरै महत्वपूर्ण हुन्छ। जबसम्म हाम्रो भौतिक शरीरको अस्तित्व रहन्छ तबसम्म मनुष्यको पदार्थसँगको सम्बन्ध रहिरहन्छ । परन्तु उसले इन्द्रियहरूको तृप्तिका लागि मात्र सोच्नु हुँदैन । यदि मनले कुनै इन्द्रियका विषयमा, कुनै व्यक्ति, वस्तु, घटना, परिस्थितिका बारेमा चिन्तन गर्न थाल्यो भने हाम्रा इच्छाहरु बढ्दै जान्छन् ।
भगवानले मानिसलाई आफ्नो कल्याण आफैँ गरोस् भन्ने स्वतन्त्रता दिएर भविष्य निर्माण गर्ने मौका दिनु भएको छ । यस मानव जन्मको सदुपयोग गर्ने उसको कर्तव्य हो । सांसारिक विषय भोगतिर मात्र नलागेर आफ्नो अमूल्य जीवन नष्ट हुनुबाट बचाउन पुरुषार्थ गर्नका लागि श्रीमद्भागवतमा भनिएको छ –अनेक जन्महरू पछि यस परम पुरुषार्थको साधन स्वरूप मनुष्य शरीर जुन अनित्य भएर पनि अत्यन्त दुर्लभ छ त्यसलाई पाएर बुद्धिमान पुरुषले शीघ्रतिशीघ्र मृत्यु हुनु भन्दा पहिले नै आफ्नो कल्याणको लागि प्रयत्न गर्नुपर्छ । विषय भोग त अरू योनिहरूमा पनि प्राप्त हुन सक्छन् । त्यस कारण संग्र्रह र उपभोग गर्न पट्टि मात्र लागेर यस अमूल्य जीवनलाई नष्ट हुन दिनु हुदैंन । मनलाई सदा अस्थिर बनाई राख्ने इच्छाद्वारा उत्पन्न भावनाहरू जुन मानिसको चेतनामा प्रवेश गरेर रिस, राग, भय, ईर्ष्या, घृणा, लोभ, चिन्ता आदि हानिकारक अवगुण उत्पन्न गरी दिन्छन्, यी अवगुणहरूले मानिसको चेतना क्षुब्ध र अशान्त बनाइदिन्छन् । त्यसैले यी अवगुण तुरुन्त हटाउने प्रयत्न गर्नु पर्छ । गीतामा भगवान् श्रीकृष्णले भन्नु भएको छ –अर्थात् विषयासक्त मनुष्यको कामनाबाट क्रोध उत्पन्न हुन्छ, क्रोधबाट मोह, मोहबाट स्मरण शक्ति भ्रमित हुन्छ, यसले बुद्धि नाश हुन्छ र बुद्धि नाश भएपछि मनुष्यको आध्यात्मिक जीवन नष्ट हुन्छ ।
आध्यात्मिक जीवनलाई नष्ट हुनबाट बचाउने एकमात्र उपाय ध्यान हो, यो लक्ष्य र लक्षितको समन्वित स्वरूप हो, आत्मालाई परमात्मासँग पुनर्मिलन गराउने क्रिया हो । गीतामा भनिएको छ–आत्मसंस्थमनःकृत्वा नकिञ्चिदपि चिन्तमेत् । (६÷२५)अर्थात् मनलाई आत्ममा राम्ररी स्थापना गरेर अरू कुनै कुराको चिन्तन गर्नुहुन्न । जबसम्म यस भौतिक शरीरको अस्तित्व रहन्छ तबसम्म मनुष्यको पदार्थसँगको सम्बन्ध रहिरहन्छ । परन्तु उसले इन्द्रियहरूको तृप्तिका लागि मात्र सोच्नु हुँदैन । यदि मनले कुनै इन्द्यियका विषयमा, कुनै व्यक्ति, वस्तु, घटना, परिस्थितिका बारेमा चिन्तन गर्न थाल्यो भने तुरुन्त ती विषयहरूबाट मनलाई हटाएर आराध्य देव परमेश्वरमा लगाई हाल्नु पर्छ । बाहिरका दृश्यलाई आखाँ झिमिक्क गरेर जसरी हटाउन सकिन्छ त्यसरी नै मनभित्रका संकल्प विकल्पलाई पनि हटाउन सकिन्छ । यसका लागि निरन्तर ध्यान योगको अभ्यासले मात्र सहजरुपमा मनको चंचलतालाई नियन्त्रण गरेर परमेश्वरको सानिध्यता प्राप्त गर्न सकिन्छ ।
दुःखको समाधान नै मुक्ति वा मोक्ष हो भन्ने दार्शनिक मत छ । दुःख भगाउन र सधैं खुशी हुन चाहने आफ्ना चेलाहरुलाई विवेकानन्द भन्छन् “एउटा विचार राख्नुहोस्, त्यो विचारलाई आफ्नो जीवन बनाउनुहोस्, यसको बारेमा सोच्नुहोस्, यसको बारेमा सपना देख्नुहोस् र दिमाग लगायतका शरीरको मांसपेशीहरु र स्नायुहरूलाई समेत एकैसाथ त्यो विचारमा समाहित गर्नुहोस् । एउटा विचार सोचेसम्म अर्काे विचारलाई दिमागबाट हटाउनुहोस् ।स्वामी विवेकानन्दको विचारमा अनियन्त्रित दिमागले हामीलाई जीवनमा नकारात्मकता तर्फ डोहो¥याउँछ र नियन्त्रित दिमागले हामीलाई यस नकारात्मकताबाट जोगाउँछ । उनले भनेका छन् ‘आत्म जागरूकता नै आफ्नो दिमागलाई नियन्त्रण गर्ने उत्तम तरिका हो ।इच्छाशक्ति र अठोटले दिमागलाई भड्काउनबाट पनि रोक्न सक्छ । यद्यपि उनका अधिकांश शिक्षाहरू चेतावनीमूलक छन् । किनकि उनका अनुसार दिमागलाई वशमा राख्नको लागि एउटै विचारलाई बारम्बार अभ्यासमा ल्याउनु आवश्यक छ । दिमाग नियन्त्रण गर्न दिनको दुई पटक ध्यान गर्न सुझाव दिन्छन् विवेकानन्द । विशेषगरी बिहान र साँझको समय ध्यानको लागि उपयुक्त हुन्छ । किनकि यो समय दिनको शान्त समय हो ।उनलाई विश्वास छ कि यसले दिमागमा हुने उतारचढावलाई कम गर्न मद्दत गर्छ । दिमागलाई नियन्त्रणमा राख्ने सम्बन्धमा विवेकानन्दले एकाग्रतालाई जोड दिएका छन् । एकाग्रताले मानिसलाई पाशुवत रुपबाट मुक्त गर्न मद्दत गर्छ ।
मन प्रायः आफ्नै संसारमा रमाउँछ । कसको मन कतिबेला कहाँ पुगेको छ भनेर नापजाँच गर्ने यन्त्र हुँदो हो त मानिसहरू आफू रहेको ठाउँमा कमै भेटिन्थे होलान् । मनलाई दुई भागमा बाँडेर चर्चा गर्ने गरिएको छ, चेतन मन र अवचेतन मन । मान्छेले नचाहँदा–नचाहँदै पनि अवचेतन मनको कुरा कहिलेकाहीँ बाहिर आइदिन्छ । अनि कहिलेकाहीँचाहिँ मुखले बोल्ने र मनले सोच्ने कुरा फरक हुन सक्छ । मनमा जे छ बाहिर त्यही बोल्ने र गर्ने मानिसहरूको सङ्ख्या त्यति ठूलो हुँदैन भन्ने छ । मनले विचार उत्पन्न गर्छ । प्रेम र घृणा दुवै मनबाटै उत्पन्न हुने हुन् । आफ्नो मनलाई ‘कन्ट्रोल गर, नियन्त्रणमा राख भनेर सानैदेखि सुनिएको भए पनि मनलाई नियन्त्रण गर्ने रिमोटकन्ट्रोलचाहिँ अहिलेसम्म बनेको छैन । भविष्यमा बन्ने सम्भावना पनि देखिँदैन । मनलाई वशमा राख्ने काम व्यक्ति स्वयम्को हो । मनमा उत्पन्न हुने भावना र मस्तिष्कमा उत्पन्न हुने विचारको जिम्मेवार मानिस स्वयम् हो । अरूले यी कुराको जिम्मेवारी लिन सक्दैन । भगवान् गौतम बुद्धले जीवनमा सुखदुःखको कारण मन भएकाले मनलाई शत्रु नबनाउ भन्नुभएको छ ।
जब हामी नकारात्मक कुरालाई पनि सकारात्मक तरिकाले सोच्न थाल्दछौ तब त्यसको नतिजा पनि राम्रो आउँछ। । हामी सकारात्मक सोच्छौ भने हामी सकारात्मक बन्छौ, तर यदि हामी नकारात्मक सोच्छौ भने हामी त्यही बन्छौ ।दैनिक जीवनमा आफ्नो विचारप्रति मात्र सकारात्मक रहियो भने जीवनमा अकल्पनीय परिवर्तनहरू देखिनेछन्।अशान्त मनलाई शान्त पार्न मुस्किल त छैन तर यसका लागि केहि उपायहरुको भने सहि तरिकाले अपनाउनुपर्छ। जबसम्म मानिसले आफ्नो मनलाई शान्त गर्न सिक्दैन तबसम्म उसले जीवनमा अरू केही पनि कुरा राम्रोसँग सिक्न सक्दैन। अस्थिर र चन्चल दिमागका कारण धेरै पटक हामी ठूला निर्णय लिन सक्दैनौं र सानो कुरामा गल्ती गर्छौं। यी गल्तीहरूबाट बच्न र मनलाई शान्त पार्न केहि उपायहरु निकै नै लाभदायक हुन सक्छन्। आफ्नो मनलाई शान्त पार्ने सबैभन्दा राम्रो उपाय हो योगा गर्नु । योगा गर्नाले मन र दिमाग दुवै शान्त हुन्छ। योगको मुख्य फाइदा दिमागलाई शान्तपार्नु हो। योगको सहायताले थोरै समयमा मनलाई शान्त बनाउन सकिन्छ । केही प्रकारका योगहरु पनि छन्, जसको सहायताले मनलाई लामो समयसम्म शान्त राख्न सकिन्छ। कुनै दृश्यमा ध्यान केन्द्रित गर्दा मन शान्त हुन्छ। यो उपाय अलि ध्यान जस्तो लागे पनि यो ध्यानभन्दा फरक छ। कुनै पनि शब्द वा विचारहरू सोच्नुको सट्टा मनलाई शान्त र खुसी दिने दृश्यमा ध्यान केन्द्रित गर्दा फाइदा हुन्छ।
मन शान्त राख्ने अर्को अचुक उपाय भनेको गहिरो सास लिनु हो। जब हामी हाम्रो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्छौं, हाम्रो मस्तिष्कबाट सकारात्मक रसायनहरू निस्कन्छ, जसले दिमागलाई नियन्त्रण गर्न र दिमागलाई खुसी राख्न महत्वपूर्ण भूमिका खेल्छ। दिमागलाई शान्त राख्न नियमित रूपमा पाँच पटक गहिरो सास लिनुपर्छ र केही समयपछि श्वास छोड्नुपर्छ। गहिरो सास लिँदा फोक्सोमा केन्द्रित हुनुपर्छ। यसले मन र मस्तिष्कमा भावनात्मक विचारहरू ल्याउँदैन, र तत्काल शान्ति र राहत ल्याउने काम गर्छ। आफ्नो मन अशान्त भएपछि मानिसले बाहिर कतै पनि शान्ति देख्दैन । किनभने शान्ति महसुस गर्ने कुरा हो । गीतामा कृष्णले भन्नुभएको छ– मानिसको पतनको कारण काम, क्रोध, मोह र लोभ हो । यी चारवटै कुरा मनसँग सम्बन्धित छन् । एकैछिन मन तलमाथि हुँदा मानिसले ज्यान गुमाएकादेखि जेलमा पुगेकासम्म अनेक घटना छन् । मन अशान्त भएपछि मानिस ज्योतिषकहाँ जान्छन्, मन्दिरदेखि भट्टीसम्म मानिसलाई मनको परिस्थितिले नै डोरÞ्याउने हो । मनको उतारचढावलाई लिएर धेरैले धेरै कुरा लेखेका छन् । तर, मनलाई बाँध्नका लागि बाहिर भौँतारिनुभन्दा पनि पलेँटी कसेर आफैंभित्रको यात्रा गर्नुपर्छ भन्नेचाहिँ कमैलाई मात्र थाहा छ । मनको तरङ्ग पृथ्वीमा हुने तरङ्गभन्दा शक्तिशाली हुन्छ । जसलाई बाहिरको कुनै पनि शक्तिले नियन्त्रण गर्न सक्दैन, आफैँले गर्ने हो । भनिन्छ– सबैभन्दा नपढिएको पुस्तक मानिसको जीवन हो । आफैँभित्रको ब्रह्माण्डमाथि अध्ययन र अभ्यास गर्ने कोसिस गरौँ ।
हामिले आहारलाई शुद्ध र सात्विक बनाउन सफल भयौं भने मनमा विजय पाउने दिशामा एक कदम अघि बढ्नेछौं। ‘जस्तो खान्छौं अन्न, त्यस्तै हुन्छ मन यो भनाइ निरर्थक छैन। आहार भन्दा सूक्ष्म छ हाम्रो काया। आहार विजय पछी शरीरलाई साधौँ , यसलाई नियंत्रणमा लिउँ। विविध प्रकारका आसन–प्राणायाम–व्यायाम आदिको विधान कायालाई साध्नको लागि नै बनाइएको हो। यसबाट शरीरको चंचलता कम हुन्छ, यसको असर मनमा पर्नेछ। काया भन्दा सूक्ष्म छ वाणी या वचन र यो भन्दा सूक्ष्म छ हाम्रो मन। वाणीमा नियंत्रण भयो भने त मन स्वतः वशमा हुनेछ। तर हामीले विपरीत क्रमले पुरुषार्थ गर्ने गर्दछौं– सर्वप्रथम मनलाई जित्ने प्रयत्न गर्दछौं र यहीं नेर मात खान्छौं। यदि अर्को ढंगले कोशिश गरियो भने मन दुर्जेय रहदैन। उसको शत्रुभाव पनि समाप्त हुनेछ, उसले हामीसंग मित्रवत व्यवहार गर्नेछ ।
(उप्रेती सहकारी बिभागमा कार्यरत छन्)
Previous Articleसदाचार र नैतिक संस्कृति विकासमा भागवत गीताको दिव्य ज्ञान
Next Article मई दिवस: श्रम अधिकार

