तोमनाथ उप्रेती
धर्म आचार विचार र संस्कारको समग्र रुप हो । हिन्दू, बौध्द, क्रिश्चियन, मुश्लिम, जैन, यहुदी लगायतका सबै धर्म दर्शनमा आधारित छ । यस मध्ये हिन्दू धर्म आदिकाल देखि चल्दै आएकोले यसलाई सनातनी धर्म पनि भन्ने गरिन्छ । विश्वमा सबैभन्दा पुरानो लिपिबद्ध धर्म हिन्दू धर्म नै हो । हिन्दू धर्ममा हत्या हिंशामा अबोध पशुको बली दिने कुरा पवित्र गीता र वेदमा कहिँ कतै उल्लेख गरिएको छैन । विश्वमा मानव–अधिकार मात्र नभएर पशु–अधिकारका बिषयमा समेत आवाज वुलन्द भई रहेको वर्तमान सन्र्दभमा हाम्रो देशमा हजारौँ–हजार निर्दोश जनावरहरूको बलीको नाममा सामुहिक हत्या भइरहेको अवस्था विधमान छ ।
बिभिन्न चाड वर्व तथा कूल देवताको पूजाको नाममा पाखण्डताको आधारमा अबोध खशी, बोका, रांगा, भैंसी, च्याङ्ग्रा,परेवा र कुखुराहरुको हत्या हिंशा भइरहेको छ । हिन्दू धर्ममा केवल चाड पर्वहरुमा सार्वजनिक स्थानहरुमा अबोध खशी बोका रांगा, भैंसी र पंक्षीहरुको हत्या गरी बली दिनु भनेको कायरता,कुसंस्कार र कुकर्म बाहेक अरु केही होइन । जातीय छुवाछत, जातीय असमानता र भेदभाव पनि एक बलियो हिंशा हो । समाजमा जातीय असमानता र हिंशा चाडपर्वका नाउँमा पशुपंक्षीको हत्या सामाजिक उद्दण्डता , धामिक पाखण्ता,असभ्यता,अराजकता,अमानवता वाहेक अरु केही होइन ।
हिन्दू धर्मको मूल शास्त्र वेद र गीतामा त्यस्ता अबोध पशुपंक्षीका रगतले आफ्ना आराध्य देवलाई बली दिनु भन्ने कंही कतै उल्लेख गरकै छैन । केही दन्त्य कथाका आधारमा बली प्रथाको विकास भएको छ । जो हिन्दुत्वको विरुद्ध हो ,अभिसाप हो । हिन्दू धर्मका ठेकेदार कथित पण्डितहरु,मन्दिरका तथाकथित मठाधिसहरु जान वा अन्जान रुपमा हिन्दूत्वको सभ्यताको विरुद्ध लागेको पाइन्छ ।नेपालमा दशैं तिहार जस्ता कथित चाडवाड आए लगत्तै लाखौको संख्यामा खशी, बोका, रांगा , भैंसी र पंक्षीहरुलाई बली वेदीमा चढाउँने कुसंस्कारको विकास भएको छ । यसले एकातिर हिन्दूत्वको उपहास गरीरहेको छ भने अर्कोतिर हरेक चोक गल्लिमा रगत मासु सडेर वा डढेर वातावरण प्रदुषण बनाई रहेको अवस्था विधमान छ । पशुपंक्षीको हत्या गर्नु आफैमा पाप हो भने मानव सभ्यता र मानवता मासिएको अवस्था समेत हो ।
पशु पंछीहरुको संरक्षण गर्नु मानव जातीको मूल कर्तव्य हो । तर, कालान्तरमा मानव जाती बली ,हिंशाप्रति आर्कषित हुन पुग्यो । प्राकृत ईश्वरीय भगवानले ब्रहमाण्ड र यसै प्रकारको जीव जीवात्माको रचना गरे तिनै शक्ति स्वरुपी भगवानबाट चाडपर्वको नाउँमा ती खशी बोका राँगा, पाठा तथा पंक्षीहरुको बली देऊ भनेर आदेश दिएको अवस्था नै छैन । वेद र गीता बाहेक अन्य पुराणको आदेश मान्न सकिने अवस्था रहदैन किनकी पुराण दन्त्य कथामा आधारित हुन्छ आदेश छैन ।
नेपालमा दशैंमा हजारौंको संख्यामा अवोध पशुपंक्षीको बली हुन्छ ।मुश्लिम धर्ममा पनि बली प्रथा मौलाएको छ जो कुरानको मूल नीति विरुद्ध छ । उल्टो बनाई चार हात खुट्टा बाँधेर अल्लाहु अकवरको मन्त्र उच्चारण गर्दै कुनै जीवको बली दिंदा उक्त जीव अल्लाह कै शरणमा पुग्छ भन्ने गलत विश्वास छ। हिन्दू धर्मका कुनै पनि वेद र गितामा कहिँ पनि भगवानले आफूलाई खुशी बनाउन बली चढाउ भनेको पाइँदैन। यो पुर्णतः कूरीति, कुसंस्कार,अल्पज्ञता मात्र हो। सबैभन्दा पहिले हामीले बुझ्नु पर्ने कुरा के हो भने– धर्म र संस्कृति÷परम्परा यी उस्तै– उस्तै लागे पनि अलग–अलग चीज हुन्। हिन्दू धर्म भनेको वेद र पुराणहरुमा उल्लेखित निर्देशनहरूमा हुने आस्था हो जसलाई आदर्शपूर्ण रूपमा अनुशरण गरे आफ्नो आत्मा परमात्मामा सम्मिलित हुने विश्वास गरिन्छ। तर संस्कृति भनेको मनिसले आ–आफ्नो विश्वासका आधारमा समाजमा आफैले उत्पत्ति गरेका कार्य हुन जो एक पछि अर्को पुस्तालाई परिदान गर्दै जादा रीति–रिवाज या परम्परा बन्न जान्छन् ।
नेपालमा हामीले धर्मले संस्कृतिलाई परिभषित गर्नुको सट्टा संस्कृतिले नै धर्मलाई परिभषित गरिरहेका छौँ। नेपालमा मान्दै आएका संस्कृतिहरू मध्ये केहि हिन्दू धर्मबाट प्रदुर्भाव भएका छन् अनि कुनै चाँहि हामी आँफैले उत्पत्ति गरि अज्ञानता–बश हिन्दू धर्मसंग जोडी दिएका छौँ– गढीमाइ बली–प्रथा यसको ज्वलन्त उदाहरण हो। त्यस्तै देवीका मन्दिरहरूमा दशैँमा दिइने बलीहरू, पुरानो समाजमा सती–प्रथा यसका अरु थप उदाहरण हुन। संसारमा भौतिक संरचना कुन चरम बिन्दुमा पुगि सके तर हामी मुर्ख नेपालीहरू दुई–कोठे घरको ढलान गर्दा समेत बोकाको बली दीन छोडेका छैनौँ– घर बलियो हुने अन्धबिश्वामा। यो कस्तो संस्कार हो ?
न त हामी आधुनिक सभ्य मनिस सरह सोच–कार्य गर्न सक्यौ, न त आफ्नै धर्मको नै पूर्ण ज्ञान लिएर संस्कृति सुधार्न सक्यौँ। बुद्धको फोटोमा अगरबत्ति जलाउने अनि बलीको नाममा मार हान्न हिड्ने, हातमा लडडु लीई बसेका गणेशलाई ढोग्ने अनि अण्डा फुटाइ चढाइ दिने। यो ब्रह्माण्ड नै भगवानको हो, भगवान त सर्वशक्तीमान छन् भन्ने पनि दिमागमा पाल्ने अनि उनै भगवान चाहिँ बोको पाउनको लागि मेरो भाकल पुरा गर्छन् भन्ने पनि सोच्ने। धार्मिक दृष्टिले हेर्दा, यदि कसैले भाकल गरेको नाममा बली दिई हाल्छ भने पनि त्यो अर्थहिन देखिन्छ।
सबै प्राणीलाई आफुँलाई जत्तिकै माया गर्ने, अरु प्रति दया, प्रेम र करुणा देखाउने, पूर्ण शाकाहारी÷सात्विक भोजन र योग बाट पवित्र जीवन जिउने व्यक्ति मात्र पुर्ण मानव हुन सक्छ । हिन्दू धर्मको नाममा फैलीएको बिभ्रान्ति र त्यसैबाट पैदा भएका कु–संस्कारहरू नेपाली समाजको चुनौती हुन्। हिन्दू पुराणहरूमा कहिँ पनि देवी–देवताले आफूलाई बली चढाउ; कसैको पती मरे पछि पत्नि लाई पनि संगै आगोमा पोल या छोरीको बिहे गरिदिँदा दाईजोको रूपमा सके मोटर–साइकल अथवा कम्सेकम पलङ–दराज दिनु भनेका छैनन्। यी सबै कुराहरू हामी आँफैले जन्माएका रीति–रिवाज, संस्कृति र परम्परा भित्र पर्दछन्। अनि यिनै रीतिहरू पुस्तौँ–पुस्तामा सर्दै जादा कालान्तरमा कूरीतिमा परिणत भएका हुन्।
धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा–हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।‘बलि’ शब्द कुनै हत्या हिंसा, मार–काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन। भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ।
प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध वा वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् ः यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन।
दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो। बाबु–बाजेले यही नियम बसाए, छोरा–नातिले पनि यही सिके, फलतः दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो। बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ। यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ। नयाँ सोच ,नयाँ विचार , नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकास क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यही नै हो।
तसर्थ बलि प्रथा अज्ञानी वा आध्यात्मिक ज्ञान नभएका र मतलबी आसुरी प्रबृत्ति भएका व्यक्तिहरूको कार्य हो, यसो गर्ने व्यक्ति मृत्यु पश्चात सोझै भुत, प्रेत योनिमा जान्छन वा नर्कमा सजायका लागि जान्छन र नर्कमा सजाए समाप्ति पछि मनुष्य योनिमा अपाङ्ग र गरीब कुलमा जन्म लिन्छन । यदि तपाई वैेदिक सनातन धर्म (हिन्दु) मा बिश्वास गर्नु हुञ्छ भने मांस भक्षण आजै बाट छोडी दिनुहोस मांस भक्षण गर्नु कसैलाई पशु हत्यामा उक्साउनु हो र तामसिक कार्य हो यस्ता व्यक्ति मृत्यु पश्चात सोझै जनावरको योनिमा जान्छन र त्यसपछि मनुष्य भै गरीब कुलमा जन्म लिन्छन । अर्को कुरा यो बुझ्नुहोस कि चलन चाहे हजÞारौ वर्षदेखिको होस वा वाउबाजेले चलाएको होस, कुनै राजाले चलाएको होस, सनातन धर्म शास्त्र अर्थात वेद, उपनिषद, पुराण, महाभारत, रामायण, स्मृति, गीता आदिमा उल्लेख भएको छ भने मात्र त्यो सनातन हिन्दु धर्मको कुरो हो नत्र त्यो चलेको चलन हो, शास्त्र सम्मत छैन भने त्यो वैदिक सनातन धर्मको अंश हैन। तसर्थ , शंकराचार्य, रामानुजाचार्य, माधवाचार्य जस्ता सनातन धर्मका जगतगुरुहरू मार्फत सनातन धर्म बुझ्नुहोस आफ्नो बुद्धिले हैन वा कुनै जड्याहा, जवाड़े वा माँसाहारी मार्फत हैन। तपाईको बुद्धिले त जस्तो तपाईको अन्तःकरण त्यही सही देखाउछ। हालसम्मका सबै जगदगुरुहरूले पशुहत्या सहितको बलिप्रथा त परको कुरा, मांसाहार नै बर्जित गरे।
मनवको जन्म अन्यलाई मारेर मासु खाएर जिब्रो पड़काउन भएको हैन। तन्त्र साधना अनुरूप बलि दिएर तमोंगुणी भूतलाई बशमा गरी स्वईच्छा पूरा गर्न पनि भएको हैन। तपाईको जन्म त धर्म गर्न अर्थात दया, माया, सबै जीवात्माप्रति प्रेम, काम÷क्रोध÷लोभ÷मोह नियंत्रण जस्ता गुण धारण गर्न भएको हो।
नेपालीहरूकोे महान चाड नजिकिँदै गर्दा पशुबलि विरुद्धको आवाज उठ्ने गरेको पाइन्छ । तर पशुबलि विरुद्धको आवाज यदाकदा मौसमी रूपमा मात्र उठ्ने गरेको पाइन्छ । बिगतमा गढीमाई मेलामा हुने बलिप्रथाविरुद्ध कडा रूपमा आवाज उठेको थियो । देश भित्र र देश बाहिर (भारत)बाट पनि अहिंसा प्रमीहरूले बलि प्रथा रोक्न आवाज उठाए पनि सरोकारवाला पक्षले आवाजलाई नजरअन्दाज गर्दै अबोध पशुपंक्षीहरूको रगतरूपी होली प्रथालाई निरन्तरता दियो । नेपाली समाजमा बलि प्रथा सनातन कालदेखि चल्दै आएको विश्वास गरिन्छ ।
मानिसमा हुने बोकाको जस्तो काम भावना, भेँडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन। बलि प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशु बलि दिनु नहुने भनाइ छ । बलि प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बजारमा खसीबोका भन्दा नरिवलको सङ्ख्या बढेको देखिन्छ ।
देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । पशुबलि दिए देवदेवीको आर्शीवाद मार्फत पुत्र प्राप्त हुने जनविश्वासले पनि पशुबलि प्रथा समाजमा विद्यमान रहेको पाइन्छ । देवाली वा कुल पूजामा पनि पशुबलि अनिवार्य रूपमा लिइन्छ । दसैंमा सबै जसो समुदायमा पशुबलि दिनु पराम्परागत अनिवार्यता जस्तो देखिन्छ । हिन्दु सँस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अतः अहिंसावादीहरूले शक्तिरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पाइन्छ । तर बलि प्रथावादीहरू भने परम्पराको नाममा निर्दोष पशुको घाँटी रेटेर रगत चढाउने बर्बर कार्य गर्दै आएका छन् ।पशुबलि चढाउने कुरीति तथा कुप्रथाले हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्ने गरको छ । एकातिर हामी सबै प्राणी भगवानको सन्तति हौँ पनि भन्ने अनि अर्कातिर अबोध र निर्दोष प्राणीको हत्या गरि भगवानलाई खुशी पार्ने नाममा अबोध पशुको बलि चढाउने । के देवीदेवताहरू रगतका प्यासी छन् ? के उनीहरू बलि चाहन्छन् ? रगत माग्छन् ? त्यो पनि आफुले सृजना गरेको सन्तानको घाँटी रेटेर चढाएको रगत ?
आफ्नै सन्तानको बध गरी रगत चढाउँदा भगवान कसरी खुशी हुन सक्छन् ? आफ्ना छोराछोरीको बलि चढाउँदा कुन चाँहि आमा खुशी हुनसक्छिन् र ? अतः निर्दोष पशुपंक्षीकोे बलि चढाउनु देवीदेवातालाई खुशी होइन दुखी बनाउनु हो ! उनीहरूको मुहारमा हर्ष होइन आँसुको वर्षा गराउनु हो, चित्त दुखाउनु हो ।
अहिलेको एक्साइसऔं शताब्दीमा पनि बलि प्रथा जस्तो बर्बर र अमानवीय कुसंस्कृति हाम्रो समाजमा विद्यमान रहनुका मुख्यतः तीन कारण रहेको देखिन्छ । पहिलो कारण अन्धविश्वास नै हो । अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने भ्रम जुन जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यही नै बलि प्रथा जस्ता कुप्रथाको मूल जड हो ।अन्धविश्वासको कालो बादल हाम्रो समाजमा यसरी मडारिएको छ कि हामी स्वतन्त्र भएर सोच्न पनि सक्दैनौं । जस कारण हामी गलत र सहि बिचको फरक पनि छुट्टाउन सक्दैनौं र बलि प्रथा, बोक्सी प्रथा, छुवाछूत प्रथा जस्ता अनेकौं कुप्रथा तथा कुसस्ँकृतिलाई अँगालिरहेका छौं ।दोस्रो कारण, राज्यले अन्धविश्वासलाई प्रश्रय दिनु हो । राज्यको कर्तव्य कुरीति तथा कुप्रथाको अन्त्य गरी सभ्य समाजको सृजना गर्नु हो । तर बिडम्बना भन्नु पर्छ राज्यले आफ्नो कर्तव्य भुलेर कुप्रथाहरूलाई प्रश्रय दिइरहेको छ । राज्यमा अनिष्ठ केहि नहोस, जनकल्याण होस भन्ने नाममा र सोचे जस्तो हुन्छ भन्ने भ्रममा राज्यद्धारा विभिन्न शक्तिपीठहरूमा बलि तथा भेटी चढाउन परम्पराको रूपमा विकसित भएको छ भन्दा अतिश्योक्ति नहोला ।
केहि धार्मिक व्यक्ति तथा संस्था बलि प्रथाविरुद्ध उभिएका छन् भने केहि परम्परको जर्गेणा गर्ने नाममा बलि प्रथालाई निरन्तरता दिनु पर्ने पक्षमा उभिएका देखिन्छन् । यसलाई समलोचनात्मक दृष्टिबाट हेर्दा रुढिवादी तथा कर्मकाण्डीय पक्षलाई अँगिकार गर्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको पक्षमा उभिएका देखिन्छन् भने अर्कातर्फ आध्यात्मिक पक्षलाई अँगिकार गर्ने तथा समयानुकूल सँस्कार÷सँस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोंच राख्ने धार्मिक व्यक्ति वा संस्था चाँहि बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।
धर्मसँग पशुबलि जोड्नु कतिको जायज होला? वास्तवमा धर्मसँग पशुबलि जोड्नुमा न त कुनै तुक छ, न त कुनै तर्क । तर अहिलेको अभ्यस्त परम्परागत प्रवृत्तिलाई नियाल्दा धर्म पनि दुई प्रवृत्तिका देखिन्छन् । एउटा बलि प्रथालाई अनिवार्य रूपमा स्वीकार्ने र अर्को बलि प्रथालाई विशुद्ध रूपमा अस्वीकार गर्ने ! एउटा निर्दोष पशुको घाँटी रेटेर उसकै आमा (देवी)लाई रगत चढाउने र अर्को यस धर्तीमा सबै प्राणीको उत्तिकै अस्तित्व छ भन्ने । एउटा हिंसाको बाटो हिँड्न सिकाएर हिंस्रक बन्न सिकाउने र अर्को अहिंसाको पाठ सिकाउने ?
धर्म भनेको आफूले आफूलाई उजागर गर्ने एउटा बाटो हो । त्यसैले अब हामीले आफूले आफूलाई सोध्ने बेला आएको छ । हामी कुन धर्म वा बाटो रोज्न चाहन्छौं ? के हामी सभ्य समाज निमार्ण गर्ने बाटो अँगाल्ने हो या असभ्य समाज निर्माण गर्ने बाटो अँगाल्ने हो ? अन्धविश्वास मुक्त समाज उन्मुख बाटो अपनाउने हो या अन्धविश्वासलाई प्रश्रय दिने बाटो अपनाउने ? अहिंसाको बाटो हिँड्न सिकाउने बाटो अँगाल्ने या हिंसाको बाटो हिँड्न सिकाई हामीलाई हिंस्रक बनाउने बाटो अपनाउने ? अब हामीले सोच्ने र यात्रारूपी जीवनमा बाटो रोज्ने बेला आएको छ ।
अहिले हामिले परम्परा र संस्कारका नाममा जे जति गर्दै आएका छौ त्यो सवै कुआस्था र कुविस्वास मात्र हो । आस्था र विस्वास छ सवै छ , भगवान छ , हामिले श्रध्दा र भक्तिले चढाएको देवीदेवताले ग्रहण गर्छ अनि हामिलाई आशिरवाद पनि दिनु हुन्छन् । त्यसैले हामी देवी देवताका नाममा फुल, नैबद्य, र मांशाहारी अनि तन्त्र र शक्ति साधना विस्वास गर्नेहरुले पशु बलि समेत दिने प्रथालाई कायम गरिदै आएका छन् । हो मासु खानैका लागि मात्र मन्दिरमा लगेर परम्परा अनि श्रध्दा भक्तीका नाममा आडम्बरितामा बली पुजा गर्दै बोका काट्न लगायर मासु खानु र बली दिने कार्य परम्परा र धर्म संस्कार बिपरित छ । यो धर्मको नाममा कलंक मात्र हो ।
हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ। जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्ने बुझ्नेहरूको मत छ। वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू। विश्वको प्राचिन मत हो हिन्दू। प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश नेपाल हो। शंख्याको आधारमा सबैभन्दा धेरै हिन्दू मतालम्वीहरू भएको देश भारत हो। ‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ। जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दू हो।
तपोभूमि नेपालमै जन्मेका महामानव गौतम बुद्धलाई कतिपय हिन्दूजन भगवान विष्णुको अवतार मानी पुज्छन्। संसारमा अत्याचार र पापाचार बढेका बेला भगवानको बेलाबेला पुर्नजन्म हुने कुरा श्रीमद्भागवतमा छ। बौद्ध दर्शनको अष्टाङ्गमार्ग अन्तर्गत हिंसालाई खराव कर्म भनिएको छ। संयक आजीविका अन्र्तगत मांस वणिज्जा, पशुवणिज्जा, शस्त्रवणिज्जा अर्थात् माशु, पशु र काटमार गर्ने शास्त्रको व्यापारलाई निषेध गरिएको छ। भगवान गौतम बुद्धले मांशभोजन गर्ने व्यक्ति कोही पनि आफ्नो चेला हुन नसक्ने समेत स्पष्ट रुपमा बताउनु समेत भएको छ।
तर पशुहिंसाबाट प्राप्त हुने मासु आफूलाई हिन्दू बताउने र वौद्ध बताउने धेरैले खाने गरेका छन्। जिभ्रोलाई नियन्त्रण गर्न नसक्ने उनीहरू बुद्धले समेत मासु खाएका थिए भनेर कुतर्क गर्छन्। चलन र प्रथाको कुरा झिक्छन्। तर सनातन शास्त्र प्राणीमैत्री छ। सनातन शास्त्रहरूमा प्राणी मारेर बलि दिने कुरो उल्लेख गरेकै छैन। शास्त्रले त रिस, राग, लोभ, मोह, मद र मात्सर्य जस्ता पशुको जस्तो गुणलाई त्याग्नु पो भनेको छ।
खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै विधान छ। पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एवं आआफ्नै धारणा रहेको सन्दर्भमा त्यसको औचित्य र अनौचित्य के छ त्यसबारे शालीन विमर्श बढाउँदै लग्नु जरुरी भइसकेको छ।
घरको परम्परा र समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अङ्गाल्ने गलत प्रवृत्ति हामीमा छ। संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ। पछि गएर चाहिँ आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ। यो कुनै निश्चित धर्मको धर्मग्रन्थमा मात्र होला भन्ने होइन, अधिकांश धर्मग्रन्थमा यस्तै गरिएको छ, यस्तै भएको छ। शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्।
धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?
अन्याय, अत्याचार र आसुरी भाव एवं हिंसक वृत्तिलाई नष्ट गरी दीनहीनजनको रक्षा गर्ने जसको संकल्प छ उनै ईश्वरको नाममा अबोध, अबुझ प्राणीमाथि खुँडा र खुकुरी चलाउनु के धर्मसम्मत कुरा होला ? यो त वात्सल्यकै घोर अपमान भएन ? के यस्तो भक्ति हुनसक्ला ? के यस्ता प्रकारको आसुरी पूजाले देवीदेवता खुसी होलान् भन्ने सम्झने ! के कुनै छोराछोरीको हत्या आमाबाबुले आफ्नै सामु भएको देख्न सक्लान् या चाहलान् ? सोच्दा मात्र पनि जीउ सिरिङ्ग गर्छ। तैपनि कतिपय मानिसहरु यसैलाई अनमोल धर्म, संस्कृति, परम्परा र संस्कार सम्झेर रमाइरहेका हुन्छन्। बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन।
बलि दिनु भनेको त्याग गर्नु हो र हामी भित्र रहेका काम, त्रोध, लाभ, मोह घृणा जस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु हो ! र यो नै सहि अर्थमा पञ्चबलि दिनु हो । तर बिडम्बना भन्नुपर्छ हाम्रो अबुझता हो या बेबुझता, हामीले आफ्नो कुप्रवृत्तिको बलि दिनु पर्नेमा निर्दोष पशुको बलि दियौं । यस प्रथाले हाम्रो कुप्रवृत्ति बढाउनु बाहेक अरू केहि गरेको छैन । अतः अब हामीले निर्मम पशुबलिलाई रोक्नु पर्छ । मठ मन्दिरलाई बधशाला बन्नुबाट रोक्नुपर्छ । प्रेम र शान्तिको सन्देश बोक्ने धर्मलाई पशुबलिसँग जोड्नु हुँदैन । कुनै पनि धार्मिक मेलालाई पशुबलि महामेला बनाउनु हँदैन, बन्न दिनु हुँदैन । खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ। पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ ।
पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।
मठ मन्दिरहरुमा गरिने पशुबध तुरुन्त अन्त गरिनु पर्छ । उत्कृष्ट हिन्दू, वौद्ध संस्कार र वेद र गीताले देखाएको दर्शनलाई निर्विरोध लागू गरौं । विश्व जनमञ्चलाई सभ्य र सु–संस्कृत भई संपूर्ण प्राणी हाम्रै सन्तान भन्ने नारा स्थापित गरौं । धार्मिक पाखण्ढता तथा रुढीवाद विरुद्ध एक हौं ।दशैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सदभाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ। मठ मन्दिरलाई बधशाला बन्नुबाट रोक्नुपर्छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

