तोमनाथ उप्रेती
बिषय प्रवेश
हरेक व्यक्तिको बौद्धिक र भावनात्मक गरी सक्षमताका दुई स्तर हुन्छन् । एक अध्ययनका अनुसार हाम्रो व्यावहारिक जीवनमा बौद्धिक लब्ध वा स्तरले मात्र २० प्रतिशत र भावनात्मक लब्ध वा स्तरले ८० प्रतिशत भूमिका निर्वाह गरेको हुन्छ । दुर्भाग्यको कुरा के रहेछ भने अहिलेको तछाडमछाड र प्रतिस्पर्धी जीवनशैलीमा हामीले एकोहोरो बौद्धिक स्तरोन्नतिमै आफ्नो पूरा बल र प्रयास लगाइरहेका हुन्छौं, जसको परिणामस्वरूप शिक्षा, सफलता, वैभव, बैंक ब्यालेन्स, विलासितापूर्ण जीवन सब हुँदाहुँदै पनि कतै न कतै सम्बन्धमा तनाव र जीवनमा अशान्ति रहि नै रहन्छ ।
यो प्रसंग पूर्ण मनोवैज्ञानिक रहेको हुनाले सबै पेसा, उमेर समूह र खासगरी व्यवस्थापक, प्रशासक, अभिभावक र विद्यार्थीवर्गले बुझ्नैपर्ने प्रसंग हो यो । प्रसिद्ध मनोवैज्ञानिक र शोधकर्ता डानियल गोलमैनले भावनात्मक बुद्धिमत्तालाई आफ्नै अध्ययन र अनुसन्धानका आधारमा पृथक् दृष्टिकोणका साथ समाजमा उतारेका थिए । जीवनको भागदौडमा कतै न कतै सम्बन्धमा, व्यक्तिगत जीवन र पेसागत जीवनमा थाकेकाहरूका लागि यस विषय र शोधले उपचारकै काम ग¥यो । भनिन्छ पश्चिमी मुलुकतिर लाखौँको संख्यामा युवा, व्यवस्थापक, व्यापारी र पारिवारिक व्यक्तिले रुचिका साथ यो किताबलाई खरिद गरेका थिए ।
आइक्यू र इक्युको सन्तुलन बनाउन सकेको व्यक्तिले दीर्घकालीन सफलता प्राप्त गर्छ । सफलता के हो त ? धेरै धन हुनु, सरकारी जागिर वा आफ्नै ठूलो सानो व्यापार हुनु ? धेरै शैक्षिक डिग्री हुनु कि प्रसिद्ध व्यक्ति बन्नु, ठूलो राजनेता गायक अभिनेता–अभिनेत्री हुनु ? के हो त सफलता ? वास्तवमा सफलताको र करियर भन्ने शब्दको कुनै पूर्वनिर्धारित व्याख्या नै छैन, किनभने राष्ट्र र राज्यपिच्छे कानुन अलग–अलग रहेझैं व्यक्ति–व्यक्तिपिच्छे सफलताको परिभाषा पनि धेरै हदसम्म फरक हुन सक्छ । तर, सफलताको मर्म सबैमा समान रहने भनेको एउटै हो र त्यो हो–सन्तोष र त्यस सन्तोषबाट उत्पन्न भएको खुसी ।
परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः धेरै न्यून हुन जान्छ ।
स्मरण रहोस्, खुसी र सुखीमा धेरै फरक छ । हरेक खुसी व्यक्ति सुखी हुन्छन्, तर हरेक सुखी व्यक्ति खुसी हुन् भन्ने जरुरी छैन । सुखले धन वैभव दर्साउँछ भने खुसीले शान्ति र आत्मसन्तोष । यस प्रकार आइक्यु र इक्युको सन्तुलन बनाउन सकेको व्यक्तिलाई मात्र वर्तमानमा चनाखो र स्मार्ट व्यक्तिको संज्ञा दिइएको छ । आइक्यु भन्नाले कुनै व्यक्तिको उसकै उमेर समूहका अन्य व्यक्तिहरूको तुलनामा बौद्धिक वा दिमागी क्षमताको गुणक हो भने इक्युको सामान्य भाषामा अर्थ कुनै व्यक्तिभित्र रहेका अलग–अलग भावनाहरू जस्तै ः रिस, प्रेम, घृणा, दुःख, निराशा, खुसी, डर आदिलाई व्यवस्थापन गर्न सक्ने क्षमताको गुणक हो ।
भावनात्मक बुद्धिमत्ताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्न सक्ने योग्यतालाई दर्साउँछ । यस प्रकारको योग्यताले हाम्रो दैनिक जीवनमा सम्बन्धहरू कतिको राम्रा र बलिया छन् भनी दर्साउँछ । सम्बन्धमा भावनात्मक बुद्धिमता प्रदर्शित हुने मुख्य–मुख्य क्षेत्रहरूमा हाम्रो मानसिक शान्ति, आत्मविश्वास, घरपरिवार, नातेदार तथा जागिर, व्यवसाय, छिमेक र समाज हुन् । यी महत्वपूर्ण क्षेत्रहरू नै हुन् जुन कि हाम्रो जीवनको वरिपरि छरिएर रहेका छन् र जसलाई समयमै महत्व र सही व्यवहार दिन सक्नुपर्छ ।
भावनात्मक ज्ञान अरू केही हैन, बल्कि आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । यसको प्रथम चरण नै बोली हो । तपाईं के–कसरी बोल्नुहुन्छ, केवल त्यही बुझ्छन्, सुन्ने व्यक्तिले तपाईंको मुटु छामी भाव बुझ्न जाँदैनन् । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः धेरै न्यून हुन जान्छ । धेरै खुसी भएका बेला र धेरै निराश भएको बेला भावनामा नियन्त्रण गर्न सक्नु भनी सिकाउँछ भावनात्मक व्यवस्थापनले ।
रिसको जननी नै अपेक्षा हो । अपेक्षा पूरा भयो भने खुसी हुन्छौं, पूरा भएन भने यसले दुःखी र दुःखले निराशा जन्माउँछ । निराशाले रिस उत्पन्न गर्छ र रिसले समस्या सिर्जना गर्न थाल्छ । यहाँ बुझ्नुपर्ने कुरा के रहेछ भने यी पाँचवटै चरण अपेक्षा, खुसी, दुःख, निराशा र रिसमा हाम्रो नियन्त्रण हुन सक्नुप¥यो । भावना हामीबाट सञ्चालित हुन्छन्, हामी भावनाबाट नियन्त्रित हुनु हुँदैन । जीवन कठिन हुँदैन, खासै जिउन नजानेर मात्र कठिन लागेको हो । मृत्यु जीवनमा एकपटक मात्र आए पनि हामीले जीवन हरेक बिहानी पाएका हुन्छौं ।
खालि कतिखेर कस्तो भाव वा व्यवहार प्रदर्शित गर्ने कलामात्र विकसित गर्न सके अभावमा पनि आनन्दको अनुभूति हुन्छ । डर पनि एक भावमात्र हो । परिस्थिति वा भविष्यलाई लिएर डराउन छोडिदिनुस् । भावनात्मक बुद्धिमताले तनाव व्यवस्थापनमा पनि सञ्जीवनीको भूमिका निर्वाह गर्ने गर्छ । भावनात्मक बुद्धिमतालाई आधारभूत रुपमा निम्न चार तरिकाले अझ विकसित र व्यवस्थित गर्न सकिन्छ ः
१. स्वयं जागरुक बन्न सिकेर
शिक्षित हुनु र जागरुक हुनुमा धेरै फरक छ । आज शिक्षित–साक्षर विगतका दशकभन्दा बढे पनि समाज र राष्ट्रमा विकृति, कुसंगति, भ्रष्टाचार र प्रदूषण उत्तिकै व्याप्त भएका छन् । यो जनतामा अजागरुकताको बलियो संकेत हो । यहाँ भावनात्मक रूपमा समेत सक्षम हुनका लागि व्यवहारगत रुपमा शारीरिक र मानसिक तवरले सुदृढ र जागरुक हुनु नितान्त आवश्यक छ । यसको पहिलो चरण नै आफूमा लगानी गरेर वा भनौं आफूलाई समय दिन थालेपछि सुरु हुन्छ । यसका लागि प्रत्येक दिन व्यायाम र ध्यान आवश्यक छ ।
चिकित्सा विज्ञानले समेत नियमित व्यायाम शरीरका लागि र नियमित ध्यान एकाग्रता र तनावमुक्त मस्तिष्कको महत्त्वपूर्ण हो भनी घोषणा गरिसकेको अवस्था छ । एउटा स्वस्थ शरीरमै स्वस्थ मन र मस्तिष्कको बास हुन्छ । कम्तीमा २० मिनेट भए पनि प्रत्येक दिन केवल आफूलाई एकान्तमा समय दिने बानी बसाल्नुपर्छ । आफूलाई बुझ्न सकेको व्यक्ति खुस र प्रसन्नचित्त हुन्छन्, नत्र मान्छेकै भीडमा मान्छेले एक्लै महसुस गरेको पनि खुब सुनिन्छ ।
यस अन्तरालमा खालि आफ्नोबारे चिन्तन गर्न सक्नुपर्छ । आफ्ना गुण–अवगुण, सबल र कमजोर पक्ष सब नियाल्दै त्यसलाई सुधार गर्नेतिर अग्रसर हुन सक्नुपर्छ । हामी मानवमा एउटा कुरा बडा अनौठो रहेछन्, हामी आफ्नो गुण बुझ्न सके–नसके पनि आ–आफ्ना खराब कुरा हामी सबैलाई स्पष्ट रूपमा थाहा हुन्छ । सकेसम्म सामाजिक सञ्जाल जस्तै ः फेसबुक, ट्विटर, युट्युब, टिकटक आदि कम प्रयोग गरी आफ्नो वृत्तिविकासमा आफूलाई व्यस्त राखिराख्नु उपयुक्त हुन्छ ।
२. आफ्नो भावनालाई परिस्थितिअनुरूप ढाल्नु
आफ्नो भावलाई झेलिरहेको परिस्थितिअनुरूप ढाल्ने प्रयास गर्नुपर्छ । चाहे त्यो प्रेम होस् वा अपमान, रिस होस् वा खुसी र डर नै किन नहोस् । हामीलाई रिस उठ्ने मुख्य कारण नै परिणाम वा परिस्थिति हाम्रो इच्छाअनुसार नहुनु हो । हाम्रो मनको पूरा भए राम्रो र नभए झन् राम्रो किनकि जब हाम्रो मनको चलेन भने सिद्ध हो, ईश्वरको मनको चल्ने हो र ईश्वरको मनको हाम्रो मनको भन्दा जहिले पनि हाम्रो लागि फाइदाजनक नै हुन्छ । रिस उठेको बेला आफ्नो रिसलाई फाइदाजनक हुने काममा मोड्न सक्नुपर्छ । सही र गलत भाव भन्ने केही हुँदैन, यो व्यक्तिको परिस्थिति र योग्यतामा निर्भर हुन्छ ।
भगवान् महादेवको शिशमा गंगा, तल तेस्रो नेत्रमा अग्नि, टाउकोमा चन्द्रमा जसलाई अमृत पनि मानिन्छ र ठीक तल घाँटीमा विष, आफ्नो सवारी गोरु र स्वास्नीको सवारी ह्रिसंक सिंह, गणेशको सवारी मुसो र अर्को छोरा कार्तिकेयको सवारी मयूर रहेछ । यहाँ बुझ्नुपर्ने के रहेछ भने आगो–पानी, विष–अमृत, सिंह–गोरु, मयूर–सर्प, सर्प–मुसो सब एकआपसका विपरीत प्रकृति बोकेका छन्, तर पनि सब शान्त, अनुशासित मिलेर बसेका रहेछन् । जीवन र भावमा अनुशासनको धेरै राम्रो उदाहरण हो यो । तसर्थ रिस, ईष्र्या, प्रेम, मोह आदि भाव आएको बेला त्यस भावमाथि आफ्नो नियन्त्रण हुन सक्नुपर्छ र त्यसलाई काम लाग्ने दिशामा उपयोग गर्नुपर्छ ।
३. स्वउत्प्रेरणा (आफूलाई उत्प्रेरित गरिराख्नु)
जतिसक्दो आफूलाई व्यस्त राख्नुपर्छ । कामको समय कुनै पनि नकारात्मक विचार, जसले हाम्रो कार्यमा मनोबल घटाउने काम गर्छ उक्त विचारबाट टाढा बस्नुपर्छ । कुनै काम, परिस्थितिमा अट्किएको बेला छोड्ने बहाना नगरी अगाडि बढ्दै जानुपर्छ । हामी जसरी अगाडि बढ्दै जान्छौं, काममा वा परिस्थितिमा निर्णायक समाधान स्पष्ट हुँदै जान्छ । आजकाल बजारमा मोटिभेसनल वक्ताहरूको वा भनौं उत्प्रेरणा वक्तव्य दिनेहरूको व्यवसायीकरण धेरै भएको देखिन्छ । तर स्मरण रहोस्, कुनै पनि मोटिभेसनल स्पिकर तपाईंलाई तपाईंभन्दा बढी जानेको हुँदैन । हाम्रो लागि हामीलाई हौसला दिने, मनोबल बढाउने साथी हामी स्वयं नै हो । हाम्रो लागि सर्वश्रेष्ठ मोटिभेसनल स्पिकर हामी स्वयं हुन सक्नुपर्छ ।
व्यक्तिले अभिव्यक्त गर्ने भावनात्मक प्रस्तुति संवेगिक क्षमता तथा विवेक हो । यो भावनात्मकतासँग सम्बन्धित हुन्छ । संवेग व्यक्तिको अद्वितीय क्षमता हो । संवेगले व्यक्तिको कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पु¥याउँछ । व्यक्तिको सफलता, सुखी र सुखमयजीवनलाई संवेगले निर्धारण गर्छ । संवेग सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन् । सकारात्मक सन्देशले जीवनमा सफलता मिल्छ भने नकारत्मक संवेगले पीडाको स्थिति सृजित हुन्छ ।
रोगको संवेग
कतिपय मानसिक रोग लागेका व्यक्तिले संवेगलाई नियन्त्रण गर्न मुस्किल पर्छ । मेनियाको समस्या भएको व्यक्ति चाँडै उत्तेजित हुने भएकाले यस्तो व्यक्तिलाई आफ्नो संवेग नियन्त्रण गर्न कठिन हुन्छ । सिजोफेनिया जस्तो कडा किसिमको मानसिक रोग लागेका व्यक्तिमा पनि सोच, विचार तथा भावनाको सन्तुलन गर्न कठिन हुन्छ । त्यसैगरि व्यक्तित्वसम्बन्धी समस्या भएका व्यक्तिमा पनि आफ्नो भावनालाई सन्तुलित राख्न मुस्किल पर्छ । ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ जस्तो व्यक्तित्वसम्बन्धी मानसिक समस्या भएका व्यक्तिको भावनाको उतारचढाव हुन्छ । जसले व्यक्तिलाई आवेगात्मक स्थितिमा पु¥याउँछ । हिस्टोनिक, इमोस्नली अन्स्टेबलका कारण पनि समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा उपचार विधि अपनाउनुपर्छ । यस्तो भावनात्मक उतारचढावका कारणले गर्दा आफ्नो दैनिक जीवनमा असर गर्ने, सम्बन्ध बिग्रनेजस्ता समस्या भएको अवस्थामा मानसिक रोगको रुपमा बुझेर उपचार विधि अपनाउनुपर्छ ।
सकारात्मक संवेगले ऊर्जा
माया, प्रेम, सुःख, आनन्द सकारात्मक किसिमका संवेग हुन्, भने दुःख, चिन्ता, पीर, रिस, डाहा, इस्र्याजस्ताजस्ता नकारात्मक संवेग हुन् । व्यक्ति खुसी भएको अवस्थामा मस्तिष्कबाट अक्सिटोसिन, डोपामिनजस्ता खुसी दिने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिको सोच, विचार तथा भावनामा सकारात्मक प्रभाव पार्छ । जसले व्यक्तिको सकारात्मक संवेग पैदा हुन्छ । त्यसैगरी रिस, लोभ, डाहाजस्ता नकारात्मक संवेगको पैदा भएको अवस्थामा मस्तिष्कबाट तनाव उत्पन्न हुने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिलाई तनावको स्थितिमा पु¥याउँछ ।
व्यक्तिले आफूमा भएका संवेगप्रति सचेत भएर त्यसको सही रूपमा व्यवस्थापन गर्न नसकेको अवस्थामा समस्या निम्तिने जोखिम हुन्छ । सकारात्मक किसिमको संवेगले व्यक्तिको मन शान्त तथा आनन्दित हुन्छ । सकारात्मक संवेगको सोचले व्यक्तिको शारीरिक तथा मानसिक अवस्था पनि तनावरहीत हुने भएकाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा ऊर्जावान् हुन्छ । जसका कारण व्यक्तिको तिक्ष्ण क्षमताको वृद्धि हुन्छ । संवेग सकारात्मक तथा नकारात्मक दुवै विषयसँग सम्बन्धित हुन्छ, भने आवेग नकारात्मकतासँग सम्बन्धित हुन्छ ।
रिस, चिन्ता, इष्र्या, डाहाजस्ता संवेगलाई सहीरूपमा चिन्न र समाधान गर्न नसकिएको अवस्थामा व्यक्तिको भावनात्मक मात्रै हैन शारीरिक क्षमतामा पनि असर पुग्ने जोखिम हुन्छ । व्यक्तिको सुखद् जीवनका लागि डर, ईष्र्या, घृणा, क्रोधजस्ता नकारात्मक संवेगलाई नियन्त्रण गरेर दया, माया, प्रेम, सद्भाव सहयोगजस्ता सकारात्मक संवेगको वेगलाई बढाउन आवश्यक हुन्छ । व्यक्तिको बौद्धिक क्षमता, विवेक, चेतनाजस्ता विषयलाई जाँच्ने कसी भनेको व्यक्तिको संवेगात्मक व्यवहार नै हो । व्यक्तिको व्यक्तित्व तथा स्वभावलाई उसले अभिव्यक्त गरेको संवेगको आधारमा पनि खुट्याउन सकिन्छ ।
व्यक्ति मानसिक रूपमा जतिसुकै बौद्धिक भए पनि त्यस्तो बौद्धिक क्षमतालाई स्वस्थ ढंगले व्यवहारमा अभिव्यक्त गर्न नसकेको अवस्थामा व्यक्तिमा नकारात्मक भावनाको पैदा भई तनावको स्तिथि सृजना हुन्छ । त्यसैले व्यक्तिले सकारात्मक संवेगलाई व्यवहारमा पनि उतार्न आवश्यक देखिन्छ ।
संवेगलाई नियन्त्रण तथा सदुपयोग गरेको खण्डमा सफलता हात पार्न सकिन्छ । तर त्यही संवेगलाई नियन्त्रण गर्न नसक्दा संवेग आवेगमा परिणत हुन जान्छ । आवेगले व्यक्तिलाई दुर्घटनाको बाटोमा पु¥याउने जोखिम हुन्छ ।
तिरस्कारको जोखिम
दुःख, सुखमा नआत्तिनु संवेगलाई नियन्त्रण गर्ने क्षमता हो । संवेगलाई नियन्त्रण गर्न सक्ने क्षमता भएका व्यक्तिलाई कुशल र बौद्धिक क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छ । यसको विपरीत व्यक्तिको मस्तिष्कबाट उत्पन्न हुने संवेगलाई नियन्त्रण गर्न नसकी झट्ट रिसाइहाल्ने, रिसले चुर हुने व्यक्ति समाजबाट समेत तिरस्कृत हुनुपर्ने अवस्था उत्पन्न हुन्छ । संवेग नियन्त्रण गर्न नसक्दा समाज मात्रै हैन पारिवारिक कलहको अवस्था पनि सृजना हुन्छ ।
संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्था यौन जोडीबीचमा पनि खटपट हुने तथा सन्तुलित यौन सम्पर्क नहुने र यौन जोडीबीच मनमुटाव भई सम्बन्ध विच्छेदको जोखिम हुन्छ ।
संवेग नियन्त्रण गर्न जान्नु जीवनको ओखती बन्छ । संवेगलाई नियन्त्रण गर्न नसक्दा समाजमा हत्या, हिंसा, लडाइँ झै–झगडा कुटपिटजस्ता घटना घट्ने जोखिम हुन्छ । आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले आफ्नो जीवनमा धेरै दुःख, आरोप, प्रत्यारोप, घृणा र तिरस्कार भोग्नुपर्ने अवस्था हुन्छ ।
संवेग नियन्त्रण गर्ने उपाय
संवेगलाई नियन्त्रण गर्न नसक्नु मानसिक अस्वस्थताको संकेत पनि हो । उचित शिक्षा र चेतना पाएको अवस्थामा व्यक्तिले संवेग नियन्त्रण गर्न सक्छ । चेतनशील तथा विवेकशील व्यक्तिले संवेगलाई नियन्त्रण गर्न सक्छ । नकारात्मक संवेगलाई नियन्त्रण गरेको खण्डमा व्यक्तिले विपक्षी तथा विरोधीका आरोप तथा आलोचना पनि धैर्य भएर ग्रहण गर्न सक्छ । यस्ता व्यक्ति शालिन पनि हुन्छन् । तर संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले झट्ट प्रतिक्रिया जनाउँछ, यसले कलहको स्थिति सृजना हुन्छ ।
संवेगलाई नियन्त्रण गरी इश्र्या तथा आवेगलाई नियन्त्रण गर्न सकेको खण्डमा त्यसले जीवनमा सकारात्मक परिणाम नै ल्याउँछ । संवेगलाई व्यवस्थापन र सदुपयोग गर्न जान्दा ठूलाठूला उपलब्धि हासिल गर्न सकिन्छ । संवेग उत्पन्न गराउन सक्ने घटना र परिस्थितिलाई शान्त, सूक्ष्म अवलोकन तथा मूल्यांकन गरी संवेगहरुको प्रकृति तथा स्वरूपका बारेमा व्यक्ति सचेत हुन आवश्यक छ ।
आफ्नो मात्रै हैन अन्य व्यक्तिको रुचि, इच्छा, भावनात्मक अवस्था, मुडलाई चिन्न र त्यसअनुरूप व्यवहार गर्न सकेको अवस्थामा सफल हुन सकिन्छ । तर संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्थामा असमझदारी, कलह, वैमनस्यता नै हात लाग्छ ।
आफू बाहेकका व्यक्तिकोे मानसिक अवस्थालाई बुझ्न सक्नु ठूलो उपलब्धि हो । कुनै पनि पेशा–व्यवसाय गर्ने व्यक्तिले अन्य व्यक्तिको भावना तथा संवेगलाई बुझेर व्यवहार गर्न सके व्यक्ति पेशा तथा व्यवसायमा सफल हुन सहयोग मिल्छ ।
संवेगात्मक क्षमताको ज्ञान भएका व्यक्तिले सकारात्मक तथा नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्छ । आफ्नो भावना, संवेगात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाडस दिने, आफूले आफैँलाई उत्प्रेरित गर्न सकिन्छ । सकारात्मक सोच राखी उत्प्रेरित भएको अवस्थामा सफलता मिल्छ ।
आफैँले आफ्नो भावना तथा संवेगको मूल्यांकन गर्न सक्नुपर्छ । आफ्नो भावनाको मूल्यांकन गर्न सकेको खण्डमा व्यक्तिलाई सन्तुष्टि मिल्छ । तर आफ्नै भावना चिन्न नसक्दा व्यक्तिलाई सन्तुष्टि मिल्दैन । यसमा व्यक्ति सचेत हुन आवश्यक देखिन्छ । आफ्नो संवेग बुझेको खण्डमा व्यक्तिमा हौसला, उत्साह, समर्पण भाव जाग्छ । जसले व्यक्तिलाई सकारात्मकताको बाटोमा डो¥याउँछ ।
व्यक्तिले संवेगलाई नियन्त्रण गर्न नसक्दा गलत क्रियाकलाप गर्न पुग्छ । लोभ, लालच, चाँडै धनी हुने लालसाका कारण व्यक्तिले चोरी गर्न पुग्छ । त्यसैगरी व्यक्तिले आफूले भनेजस्तो नभएको अवस्थामा अन्य व्यक्तिलाई गाली गर्ने झगडा गर्नेजस्ता व्यवहार देखाउँछ । संवेगलाई नियन्त्रण गर्न नसकेको खण्डमा काम बिग्रँदा, दुःख पर्दा व्यक्ति निराश भएर मद्यपान तथा धूमपानको लतमा फस्ने जोखिम हुन्छ ।
विभिन्न कुराले मानिसलाई उत्तेजित बनाउनु स्वाभाविकै हो । तर सानोतिनो कुरामा पनि ज्यादै उत्तेजित हुनु तथा संवेगहरुलाई नियन्त्रित र व्यवस्थित गर्न नसक्नु भने कमजोरी हो । संवेगहरुलाई नियन्त्रण गर्न नसक्ने, क्षणमै रुने, क्षणमै हाँस्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । संवेगलाई नियन्त्रण गर्न सक्ने व्यक्तिलाई मात्र परिपक्व मानिन्छ । परिपक्व मानिस मात्र सुखी हुन सक्छ । सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु संवेग नियन्त्रण गर्ने उपाय हो । ध्यान, तपस्याले पनि मन शान्त हुने भएकाले ध्यान नियमित गर्नु आवश्यक हुन्छ । लोभलालसा गर्नु हुन्न ।
संंवेग नियन्त्रण गरे खुसी
सुख, हाँसो, खुसी भावनासँग सम्बन्धित विषय हुन् । धन, सम्पत्ति हुँदैमा खुसी प्राप्त गर्न सकिन्छ नै भन्ने हुन्न । सधैँ सुखी भएर बाँच्न सक्नु पनि संवेग नियन्त्रणको एउटा राम्रो कला हो । त्यो व्यक्ति मात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने कला हुन्छ ।
मनोविज्ञानको भाषामा भन्नुपर्दा सुख, दुःख, हाँसो, रोदनआदि संवेग हुन् । यी कुरालाई मानिसले अनुभूति गर्न मात्र सक्छ । सुखको पनि अनुभूति मात्र गर्न सकिन्छ । सुखको अनुभूति गर्न सक्ने मान्छे मात्र जीवनमा सुखी हुन्छन् । विभिन्न कुराले व्यक्तिलाई उत्तेजित गरेपछि मानिसमा यस्ता संवेगहरु आउँछन् । जसमध्ये एक वातावरणीय प्रभाव पनि हो ।
गौतम बुद्धलाई समेत एक पटक यस्ता संवेगहरुले व्याकुल बनाएको पाइन्छ । वृद्ध–वृद्धा, रोगी, मृत्युभएका मान्छेहरु देखेर उनी दुःखी भए । मानिस कसरी सुखी हुनसक्छ भन्ने कुराको खोजी गर्न एक दिन उनी घर छाडेर जंगल पसे ।
बुद्ध एकान्तमा बसेर तपस्या गर्न थाले । उनी भोकभोकै तपस्या गर्थे । उनले धेरै वर्षसम्म यसरी नै तपस्या गर्दै गए । भोकै तपस्या गर्दा ज्यादै कमजोर हुँदै गए । तर केही समाधान भेटेनन् । भोक पनि एउटा संवेग हो । भोकको संवेगलाई नियन्त्रण गर्न गाह्रो पर्छ । यस संवेगले गौतम बुद्धलाई पनि सताइरह्यो । उनले कति गर्दा पनि सुखको अनुभूति गर्न सकेनन् । उनले भोकै बसेर तपस्या गर्नु बेकार रहेछ भन्ने थाहा पाएपछि खाना खान थाले । तपस्या गर्ने क्रममा गौतम बुद्धले सबै किसिमका संवेगहरुलाई नियन्त्रण गर्न सिके । बुद्धलाई सुखको अनुभूति हुनथाल्यो । त्यही नै उनको ज्ञान प्राप्ति थियो ।
गौतम बुद्धले सधैँ साँचो बोल्नु, चोरी नगर्नु, लोभी नहुनु, सबै प्राणीमाथि दया गर्नु, शुद्ध आचरण राख्नु, सानो भनेर हेला नगर्नु, ठूलाको आज्ञा पालना गर्नुजस्ता उपदेश दिँदै यी कुराको पालन गरेको खण्डमा मानिस सुखी हुन्छ, भनेका छन् । संवेगलाई नियन्त्रण गर्न नसक्दा नै मानिसले चोरी गर्ने, झुठो बोल्ने, आपराधिक क्रियाकलापमा संलग्न हुन सक्छ । त्यसैले चोरी नगर्नु, झुटो नबोल्नु, लोभी नहुनु, प्राणीको हत्या नगर्नु भनेको पनि संवेगलाई नियन्त्रण गर्नु हो । बुद्धले दिएका उपदेशहरुको आशय पनि यही हो ।
४. अरूको भाव पनि बुझ्न सक्नु
हाम्रो लागि देखिने अंग्रेजीको अंक ६ सामुन्ने उभिएकाका लागि ९ पनि त हुन सक्छ । यहाँ दुवै आ–आफ्नो ठाउँमा सही नै रहेछन् । यसप्रकार भावनात्मक रूपमा दक्ष वा योग्य व्यक्तिले अरूको भावना बुझ्ने प्रयास गरिरहेको हुन्छ । धेरै जानकारी भएको क्षेत्रमा कम बोल्नुपर्छ र कम जानकारी भएको क्षेत्रमा पनि कम नै बोल्नुपर्छ । हामी जति धेरै कम बोल्छौँ, गल्ती बोल्ने सम्भावना पनि उत्तिकै कम हुन्छ र जति कम गलत बौल्छौँ, उति कम समस्यामा फस्छौँ । धेरै सुन्ने बानी बसाल्नुपर्छ । यसले केही न केही सिकिन्छ नै । शान्त चित्त र आत्मविश्वासका लागि कम बोल्नुलाई धेरै महत्त्व दिइएको पाइन्छ ।
अरूलाई सुन्ने कला विकसित गर्न सक्नुपर्छ । वर्तमानमा हरेक व्यक्तिले चाहन्छन् कि उसलाई सबले सुनोस्, सम्मान देओस् तर अरूलाई सुन्ने र सम्मान दिने धैर्य र साहस थोरैमा हुन्छ । तसर्थ, अरूलाई धेरै सुन्ने र आफू सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ । यसले अरूको भावना बुझ्न वा भनौं अरूलाई बुझ्न धेरै सहयोग गर्छ । सहज भावले अरूलाई सम्मान दिनुुस्, तिनलाई राम्रो लाग्छ । यसले राम्रो सम्बन्ध निर्माण हुन सहायता गर्छ । परिवारलाई समय दिन सक्नुपर्छ । हामीले अहोरात्र गरिराख्ने संघर्ष, परिश्रम अन्ततः परिवारकै लागि त हो नि !
आफ्नो भावनात्मक दक्षतालाई कार्यालयमा सहकर्मीसँग राम्रो व्यवहारगत सम्बन्ध स्थापित गर्न उपयोग गर्न सकिन्छ । जागिरमा आफ्नो कार्यदक्षता विकसित गर्न, परिवार र समाजमा आफूभन्दा कान्छोसँग मधुर र अग्रजसँग विश्वसनीय सम्बन्ध निर्माण गर्न सकिन्छ । शैक्षिक क्षेत्रमा शिक्षक, समाजमा व्यक्तिविशेषसँग, साथीभाइसँग राम्रो सुमधुर जनसम्पर्क बनाउन सकिन्छ । भावनात्मक बुद्धिमताले यस प्रकृतिमा विद्यमान हरेक मान्छे, जीवको उत्तिकै महत्त्व र महत्त्वपूर्ण भूमिका छ भनी सिकाउँछ ।

