स्वयम्भू शाक्य
“म बूढो साठी वर्ष नाघिसकेंं मलाई भने त्यति डर छैन,मलाई अघि लगाएर देशको दुःख मोचन हुने काम तपाईंहरू गर्नुहोस् ।” यो भनाइ उपन्यासकार स्व. विष्णुचरण श्रेष्ठको हो । स्वर्गीय विष्णुचरण श्रेष्ठ ( वि.सं.१९१०¬–२००१) नेपाली साहित्याकाशमा पहिलो मौलिक सामाजिक उपन्यासका रचयिता हुन् । सुमति (१९९१) र भीष्म प्रतिज्ञा (१९९३) जस्ता सुप्रख्यात उपन्यास लेखी चर्चामा आएका विष्णुचरण श्रेष्ठ मूलतः तत्कालीन राणा शासन कालमा माल अड्डाका हाकिम (खरिदार) थिए । वि.सं. १९९७ साल कार्तिक २ गतेका दिन छोरा सिद्धिचरण श्रेष्ठलाई पक्रेर लगेको एक महिनापछि घाँटीमा कार्बन खटिरा आई ज्वरोले हिँड्डुुलसमेत गर्न नसक्ने उपन्यासकार विष्णुचरण श्रेष्ठलाई महावीर स्कूलका सहयोगी, शहीद धर्मभक्त माथेमा र टंकप्रसादसँगको गहिरो सम्बन्ध र राजनीतिक पर्चा यसरी छपाउनु पर्छ भन्ने तरीका सिकाएको कुरा प्रकाशमा आएको कारणबाट राणा शासकले पक्रेर जेलमा राखिएका थिए । राजनीतिक सचेतक उपन्यासकार विष्णुचरण श्रेष्ठको निधन वि.सं. २००१ साल माघ महिनामा भएको थियो । उक्त समयमा युगकवि सिद्धिचरण श्रेष्ठ जेलमा रहेको कारणबाट पिताको एक्लो छोराको नाताले दाह संस्कार गरी अन्त्येष्टि काजकिरियासमेत गर्न नपाएको कारणबाट सारै पीडा भई प्रस्तुत ‘तर्पण’ कविता वि.सं. २००३ सालमा लेखेको देखिन्छ । प्रजातान्त्रिक युद्धका योद्धा कविवर सिद्धिचरण श्रेष्ठद्वारा रचित उक्त तर्पण कविताका सम्बन्धमा यस लेखमा केही सानो प्रयास गरेको छु ।
यो संसार अनित्य छ । आदिदेखि अन्त्यसम्म यहाँ कुनै नित्य छैन । सबै कुराहरू क्षणिक र अस्थीर छन् । त्यसैले प्रज्ञापारमिताको दृष्टिकोणबाट शून्यबाट शरु भएको वस्तु शून्यमा हराउनु दुःख मोचन हो । यो त संसारको रीत हो । जन्मेपछि मृत्यु हुनुपर्ने, देखेको कुरा एकदिन बिलाएर जानु पर्ने बाध्यता हो । त्यसैले यो संसारमा प्रवेश पाउनु छ भने सीमारेखा भन्दा बाहिर होइन प्रकृतिको आफ्नै नीति र नियमभित्र बस्नु पर्दछ । लामो र छोटो आ–आफ्नो आयुले सीमारेखा कोर्न थाल्दछ । बाँचुन्जेल म मात्र होइन सबैको कल्याण होस् भनी यो आत्माले तत्वबोध खोज्नु पर्दछ । पापी त त्यहीँ हुन सक्छ जसले मै खाऊँ मै लाऊँ भनी भन्ने गर्दछ । अरुलाई तुच्छ ठानेर आपूm मात्र सर्वोच्च ठान्ने गर्दछ । त्यसैले अरुलाई दुःख दिएर श्रमको शोषण गर्नेहरू न्यायको तराजुमा अन्यायलाई आँखा चिम्लेर साथ दिनेहरू, ईश्वरको नाउँमा विश्वासघात गर्नेहरूलाई पापी नभनी यो भवसागरमा हामी के भन्न सक्छौं ? आज छ भोलि छैन । भोलिभित्र पर्सि पनि हराएर जाने छ । यही यहाँको रीत हो । थोपा थोपा पानीबाट समुद्र बने जस्तै समुद्रभित्र एक थोपा पानीको अस्तित्व नहुन सक्छ ।
इतिहास कोर्नु छ भने इतिहासले होइन आपूmले इतिहासको पाना फेर्न सक्नु पर्दछ । वसन्तको पूmल जस्तै, साउन र भाद्रको झरी जस्तै, छिया छिया भएको नदीको किनार जस्तै, हिलोमा फुलेको कमलको पूmल जस्तै, वीर सपूतले आमाको रक्षाको लागि प्राणको आहुती दिए जस्तै समयको मागसँगै खोजेको कुरा पु¥याउन सक्नु पर्दछ । होइन भने इतिहास कसरी रच्न सकिन्छ ? दुःख नपाई सुख कहाँ पाउन सकिन्छ ? त्यसैले बाँच्नु छ भने हामी मरेर पनि बाँच्न सक्नु पर्दछ । जुनी जुनीसम्म इतिहासको त्यो कालखण्डलाई भविष्यले पनि पढ्न सक्ने गरी कोर्न सक्नु पर्दछ ।
यो कुरो सत्य हो आज युगकवि सिद्धिचरण श्रेष्ठको पिता विष्णुचरण श्रेष्ठको मृत्यु भैसकेको छ । तर सिद्धिचरण श्रेष्ठलाई कुनै पीर छैन । किनकि युगकविलाई थाहा छ, यो संसारमा कुनै कुराको नित्य छैन । दुई दिनको लागि आएका हामीहरूको आफ्नो कुनै ठेगाना छैन । मात्र माया र मोहले हामीलाई पीर पार्दोरहेछ । त्यसैले यो अनित्यभित्र नित्य नअटाउने रहेछ । आपूmले बालेको बत्तीले मात्र बाटो देखाउँदो रहेछ । त्यसैले मान्छेको मन न हो । ईश्वरलाई चढाउने चोखो पानी जस्तो हुनुपर्छ । नदी जस्तै कहीँ कतै नरोकी अविरल कञ्चन भएर हिँड्न सक्नु पर्दछ । यो भवसागरभित्र डुबेर राम्रो नराम्रो छुट्याउन सक्नु पर्दछ । होइन भने पीर पर्नु स्वाभाविक हो । पीरभित्र मन मर्न सक्छ । मान्छे जीउँदो भएपनि शरीर सुकेर जान सक्छ । नानाभाँति मनमा कुरा खेलेर भित्र भित्रै ज्वालामुखी फुट्न सक्छ । त्यसैले हामीमा तत्वज्ञानको आवश्यकता छ । करुणा र प्रज्ञालाई आँखामा राख्नु आवश्यक छ । नित्य र अनित्यको संगमलाई निहारेर हेर्नु आवश्यक छ । जन्म र मृत्युको कथालाई बुझ्नु आवश्यक छ । समग्रमा यो संसारको रीति–थिति बुझ्नु आवश्यक छ ।
भनिन्छ, तर्पण आपैmमा पितृहरूलाई तृिप्त पार्ने काम हो । एक अँजुली जलदान दिएर पनि पितृलाई खुशी पार्न सकिन्छ । अर्घ दिएर तर्पनु आपैmमा ठूलो काम हो । किनकि पितृ दिवंगत आत्मा हो । आत्मालाई चोखो मन पर्छ । चोखो सुन्दर, शान्त अनि विशाल हुँदोरहेछ । त्यसैले होला पितृलाई स्वचित्त र स्वमनले मात्र अर्पण गर्न सकिन्छ, होइन भने कलुषित भावनाले पितृलाई तर्पण गर्नु महापाप हो । पाप आपैmमा नराम्रो हो । नराम्रो कसलाई मन पर्छ र ? त्यसैले पितृको आशीर्वाद लिनु छ भने तिमी चोखो भएर पितृकुल हुनु पर्छ । पितृऋण तिर्नका लागि पितृकर्म गरेको हुनुपर्छ । तब मात्र तिमी पितृतुल्य बन्न सक्छौ ।
युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो पिता विष्णुचरण श्रेष्ठको निधन भएको चार दिनपछि मात्र जेलमा खबर पाएकोले होला ऊ पितृकार्यको लागि जेलमै किरिया बसेर ढुङ्गा र माटोलाई अन्न र जल सम्झी आफ्नो कर्म चलाउन खोज्दैछ । क्रान्तिका लागि आगोको झिल्को बाल्ने, अँध्यारो युगमा एउटा मसाल बालेर हिँड्ने, तौलेर बोल्नु पर्ने समयमा क्रान्ति र हडतालको कुरा गर्ने, शासकहरूलाई आँखा जुधाएर हेर्न नहुने समयमा आपैm आँखाको कसिङ्गर बन्न खोज्ने यो सिद्धिचरण कस्तो होला ? त्यो युग कस्तो थियो होला ? रगत पिएर मोटाउनेहरू शासक बनेको बेला । धिक्कार छ, जहाँ मान्छे भएर पनि किन पशुको व्यवहार गर्दोरहेछ । धिक्कार छ, जहाँ अमानवीय तथा निरंकुश शासन चलाउन खोज्छ । त्यस्तो डर लाग्दो कहाली लाग्दो युगमा युगकवि सिद्धिचरण श्रेष्ठले राणा शासकहरूका विरुद्ध मुखले होइन कलमले बुलन्द आवाज उठाएर होला सर्वस्वसहित १८ वर्ष कैदको लामो यात्रा बिताउँदै छ ।
मृत्यु आपैmमा ठूलो कुरो हो । मृत्यु हुनु निर्वाण हुनु हो । एउटा आत्मा परमात्मासँग विलीन हुनु हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई जन्मेपछि मर्नुपर्ने यो नियमभित्र ऊ आपैm निश्चिन्त छ । मनमा कुनै पीर नबोकी पिताको सुखावती भुवनमा बास होस् भन्नाका खातिर आज दुबै हात जोडेर मानौ ऊ अर्घ दिइरहेको छ । मनमा हिजोका कुराहरू खेलेर होला आज असिना–पानी परेपछि दुखाइको चोटले मुख अलि अँध्यारो हुनु स्वाभाविकै हो । छोरा भनी मायाले बोलाउने पिता बिलाएर गएपछि मन रुनु स्वभाविकै हो । मृत्युको बेला छोराको मुख हेर्न नपाएपछि एउटा पिताको नाताले प्राण छोड्न गा¥हो हुनु स्वाभाविकै हो । किनकि छोरा आज जेलमा नेल लगाएर बस्दैछ । आँखाको कसिङ्गर बनेर राणाहरूको आँखामा बिझाई रहेको छ । कुन बेला के हुने हो ? बाघ र पाठोको कथा जस्तो, भोक लागेको बेला कहिले कतै मेरो छोरा सिद्धिचरणको रगत चुसेर खाने पो हो कि ? कहिंकतै मेरो छोराको मासु लुछेर खाने पो हो कि ? यस्तै यस्तै तर्कनाले होला आज विष्णुचरणको मनमा ठूलो भूकम्प चलेर मृत्युको अन्तिम समयमा छोरालाई देख्न नपाएर आँसु चुहाई रुनु स्वाभाविकैं हो । तसर्थ युगकवि सिद्धिचरण श्रेष्ठलाई आफ्नो पिता स्वर्गीय हुनुमा पीर नपरे पनि एउटा छोराको नाताले दागबत्ती दिन नपाएर छोरा हुनुको अर्थ प्रजातन्त्रमा खोज्दैछ ।
जन्मेपछि मर्नु छ निश्चित
छैन कुनै पीर मलाई
तर त्यो अन्तिम बेला
पाइनँ छोराको मुख हेर्न
भन्दै बर्बर आँसु चुहाई
रुनु भएथ्यो रे मेरो बा मर्नु अगाडि
यो संसार छाड्नु अगाडि ।
यो कुरो सत्य हो । यो बाको छोरा भोलिको लागि बाँच्नु पर्छ । किनकि हिजोसम्म पिताले सम्हालेर आएको काम आज एक्लो छोराको नाताले सम्हाल्नु छ । हिजो पिताले जतन गरिराखेको चिनो आज छोराले सरसफाइ गर्नु छ । त्यसैले बाको छोरा बाँच्नु पर्छ । बाँचेर अँध्यारोलाई हटाउन उज्यालोको खोजी गर्नु छ । रगत पिएर बाँचेका शासकहरूलाई आन्दोलनले हातखुट्टा बाँध्नु छ । प्रजातन्त्रका लागि ज्यानको बाजी लगाएर जिन्दावाद र मूर्दावादको नारा लगाउनु छ । त्यसैले म बाँच्नु पर्छ । बाँच्नुको अर्थ जिउँदो लाश बनेर होइन युगले मागेको बेला आफ्नो ज्यानको आहुति दिनुपर्छ । तब मात्र बाँच्नुको सार हुनेछ । तब मात्र जीउनुको मान हुनेछ । नत्र जन्मभूमि आमालाई वैरीले छातीमा कुल्चेको टुलुटुलु हेर्नलाई बाँच्नुको अर्थ के हुन सक्छ र ? हो सन्तान आमा बाबुको नासो हो । मायाको अन्तिम गाँठो हो । रगतको पैँचो हो । मासुको टुक्रा हो । हाडको शेष हो । प्राणको अंश हो । समग्रमा एउटा भाग हो । टुक्रा हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले बाँच्नुको अर्थ बुझेर होला आज मात्र होइन युगौं युगसम्म बाँच्नको लागि सामलहरू तयार पार्दैछ । रोई–कराई चिच्याई रहेका आवाजहरूको प्रतिनिधित्व गर्दै आगोमा आपैm होम्दै छ । आँखाले देख्न नसक्ने समुद्रमा वारी र पारी टार्नका लागि दीन–दुःखीहरूलाई डुंगामा राखी आपैm माझी बनेर टार्न खोज्दैछ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठ पीडै पीडाको अवतार बनी पीडाभित्र डुब्न खोज्दैछ । यो भवसागरभित्र उत्रिनका लागि सतहमा होइन गहिराइमा गएर हाड, छाला र प्राणको अर्थ खोज्दैछ । यो मनुजभित्र मनुज बन्नका लागि यो भवसागरमा मनुज खोज्दैछ । हिरामोती खोज्नका लागि सतहमा होइन गहिराइमा गएर सूक्ष्मरूपले अध्ययन गर्दैछ । शून्यदेखि शून्यसम्मको सिद्धान्तलाई आत्मसात् गर्दै जन्मदेखि मृत्युसम्मको जीवन बोधको कथा पढ्दै छन् । आखिर के छ र यो जीवन ? दुई दिनको घाम–छायाँ जस्तो, कर्कलाको पानी जस्तो, दिन र रात जस्तो, सुख र दुःख जस्तो, शुरू र अन्त्य जस्तो कस्तो कस्तो सबै पाएर पनि नपाए जस्तो, रित्तो भएर पनि सबै पाए जस्तो । त्यसैले जीवन अनौठो छ । यो अनौठोभित्र चित्र विचित्रको कथा छ । भोक र शोकको व्यथा छ । छिया छिया भएर नदी टर्न नसकेको गुनासो छ । समग्रमा आगो पिएर बाँच्नुपर्ने कथा छ । त्यसैले जीवन नडुबोस् भन्नाका लागि सबैले खोजेको, सबैले भनेको, सबैले हेरेको कुरा सत्य ठानी सोही मार्गमा हिँड्न सक्नु पर्दोरहेछ । होइन भने यो जीवन सारहीन हुने छ । मान्छे भएर पनि मान्छे नबन्दो रहेछ ।
हो, आज युगकवि सिद्धिचरण श्रेष्ठलाई बाको मायाले सताइरहेको छ । बाँच्नुको अर्थ आपैm बुझाइरहेको छ । अधुरो काम पूरा गर्न खोजिरहेको छ । न्यायका लागि अन्यायीहरूलाई पाठ सिकाइरहेको छ । जेल जीवनमा पशुलाई पनि नगर्ने व्यवहार भोगेर प्रजातन्त्रको कुरा गर्दै छ । त्यसैले यो पीडाको अवतार हो । पीडाभित्र घाउ हुन सक्छ । चोट हुन सक्छ । आगोले पोल्न सक्छ । पानीले बगाएको हुन सक्छ । मानो ज्वारभाटा चलेर अस्तित्व नै खरानी हुन सक्छ । त्यसैले संकटको बेला सन्ध्या भैmं लाल भएर डुब्न लागेको सूर्य जस्तो हुँदो रहेछ । भीरबाट खसेको मान्छेलाई राम राम भनी आँखा चिम्लेर भगवान्को नाम लिनु बाहेक अरु के पो गर्न सकिन्छ ? यो नै माया हो । यो नै धर्म हो । मानव जीवनका लागि माया र धर्म नै अमूल्य सम्पत्ति हो ।
आजको जन्म हिजोबाट भएको हो । भोलि, आजबाट जन्मिने छ । अलिकता रगत दिएर, अलिकता मासु दिएर, अलिकता हाड दिएर, अलिकता प्राण दिएर मानो पञ्चतत्व जन्मे जस्तै सबै मिलेर आज एउटा पूर्ण मान्छे जन्मिने छ । आज बाको मायाले होला । एउटा छोरा बाको मुखमा दागबत्ती दिन नपाएर होला विधातालाई प्रश्न सोद्धै छ । प्रभु मैले के भूल गरें ? मैले के गल्ती गरें ? के अँध्यारोमा बत्ती बाल्नु पाप हो र ? न्यायको लागि अन्यायीहरूसँग लड्नु के अपराध हो र ? होइन भने मैले के गरें ? रगत पिउने राक्षसलाई मेरो रगत दिएँ । मासु खाने जन्तुलाई मेरो मासु बाँधें । हड्डी चपाउने कुकुरलाई मेरो हड्डी दिएँ । प्राण माग्ने काललाई मेरो प्राण दिएँ । त्यसैले मैले के बिराएँ ? मेरो बाको पार्थिव शरीरलाई प्यास लाग्दा एक अँजुलि पानी किन पिलाउन सकिन ? मेरो बाले आगो माग्दा मैले किन दागबत्ती दिन सकिन ? मेरो बाले अन्तिम समयमा सास रोकी रोएको बेला मैले किन आँसु पुछ्न सकिन ? मेरो बालाई संकट परेको बेला मैले किन सहयोग गर्न सकिन ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठ बाँच्नुको अर्थ परिवारलाई होइन । ऊ त धर्तीको माटोलाई हो । माटोले खाजेको बेला ज्यान दिनको लागि जन्मेको हो ।
बाँचिरहोस् यो बाको छोरा
मायाको अन्तिम गाँठो
रगत वहाँकै, मासु वहाँकै
हाड वहाँकै, प्राण वहाँकै
यै पीडाको अवतार बनी
यै भवसागरमा उत्रिरहोस्, उत्रिरहोस्
मनुज सतहमा नडुबी ।
यो जिब्रो छाप शासन कालमा नेपाली जनता शोषित पीडित छन् । न्याय जिब्रोमा अडेको छ । शासन विधिको होइन व्यक्तिको इच्छानुसार चलाउँदैछ । सबैले जय जयकार भन्नु पर्ने त्यो युगमा भित्ताको पनि कान हुँदोरहेछ । चाकडी प्रथामा बाँचेको त्यो युगमा छोरीबेटीहरू दरबारमा चढाउनु प्रथा नै बनिसकेको छ । दिनलाई रात भन्नु पर्ने, रातलाई दिन भन्नु पर्ने यो कस्तो शासन हामी नेपालीहरूले भोग्दैछ ? चेतनाको अभावमा शिक्षालाई कालो कपडाले छोपेर सूर्यलाई हत्केलाले छेक्न खोज्दैछ । त्यसैले त्यो कहालीलाग्दो समयमा कसैले आँखा जुधाएर पनि, कसैले यो त अत्याचार भयो भने पनि, कसैले अन्यायका विरुद्ध लडे पनि, कसैले शिक्षाको ज्योति पैmलाए पनि त्यो महाअपराध हो । त्यो पापी हो । त्यो ज्यानमारा हो । त्यो देशद्रोही हो । देशका विरुद्ध पञ्चखत लाग्ने अपराध हो । त्यसैले यस्ता अपराधीहरूलाई तीन धार्नीको नेल लगाउनु पर्छ । सानो, चिसो र अँध्यारो कालकोठरीमा त्यसलाई थुन्नु पर्छ । कुकुरले पनि नखाने खाना खुवाएर जीवन सडाउनु पर्छ । निर्ममतापूर्वक रगताम्य हुनेगरी कुट्नु पर्छ । निर्जीवलाई गर्ने व्यवहार शासकले गर्दोरहेछ । जीउँदै शरीरको मासु काटी चीललाई खुवाइदिने धम्की दिन्छ । त्यसैले नेपाली समाजलाई ठूलो पर्खालले घेरेको छ । त्यो पर्खाल भत्काउन धेरै गा¥हो छ । ज्यानको बाजी लगाएर क्रान्तिको बिगुल फुक्नु पर्दोरहेछ । धन्य त्यो युग, जहाँ पुनर्जागरण असम्भव छ । त्यो असम्भवभित्र सम्भवका किरणहरू पर्याप्त हुँदो रहेछ । घर परिवार भन्दा अझ माथि उठेर एउटा सिङ्गो देशलाई माया गर्नेहरू त्यसबेला धेरै हुँदोरहेछ । प्राणलाई हत्केलामा राखेर दानवसँग मुकाबला गर्न कोशिश गर्दोरहेछ ।
यो कुरो सत्य हो । शीतयुद्धबाट चलेको आँधी असिना पसिना बनेर व्यापकरूपमा भयंकर आँधीबेहरी चल्दोरहेछ । अन्याय र अत्याचारीहरूको दरबार भत्काउने गरी, रगत पिएर बाँच्ने दानवहरूलाई आकाशमा उडाउने गरी, टोल–टोलमा अनि गल्ली–गल्लीमा न्यायको आवाज उडाउँदैछ । विधिको शासन चलाउन प्रजातन्त्रको माग राख्दैछ । त्यसैले न्याय र विधिका लागि जतिसुकै यातनाका चीत्कारहरू भोग्नु परे पनि थुप्रै बाका छोराहरू युद्धभूमिमा होमिँदैछ । भोलिका लागि सुनौला किरण बोकेर सूर्य आकाशमा उडाउनका लागि थुप्रै सपूतहरूले ज्यानको आहुती दिनुपर्छ । सबैका छोराहरू भोलिका लागि बाँच्नुपर्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले बाको छोराहरू बाँचिरहोस् भनी कामना गर्दै छ । सहन नसक्ने पीडा बोकेर, आँखा भएर पनि अन्धो बनेर ती पापीहरूले हामीलाई चैनसँग बाँच्न नदिई सुख र शान्तिलाई तिलाञ्जलि दिई दासको रूपमा बाँच्न दिने भ्रष्ट ती शासकहरूलाई हाम्रो आवाज पृथ्वीको त्यो शूल बनेर छातीमा रोपिरहोस् । भलभलती रगत बगेर हिजो गरेका अपराधलाई आँखामा झलझलती सम्झिरहोस् ।
शोषकहरूको यस्तै चड्कन
अत्याचारीको लात र धड्कन
पाई बाको यो प्रिय छोरो
बाँचिरहोस् अझ बाँचिरहोस्
सहन नसक्ने पीडा बोकी
पापी अन्धो दुनियालाई चैन नदिने
पृथ्वीको यो शूल बनोस् ।
एक दिन भोग्नु पर्छ, अन्याय र अत्याचारीहरू यो पृथ्वीबाट नासिनु पर्छ । निद्रा काल बनेर सुत्ने बेला यमदूतले सधैं तर्साउनु पर्छ । हावाहुरी बनेर रातमा कहिल्यै निदाउन नसकेर तडपी तडपी शोषकहरू बाँच्नु परोस् । छल र बलले आफ्नो पौरख देखाउने अत्याचारीहरूलाई न्याय के हो भन्ने कुरा देखाउन सकोस् । सपना र विपना छुट्याउन नसकेर सपनामा पनि यिनै छुरी बनेर मुटु टुक्रा टुक्रा पारिदेओस् । शोषित पीडित अनि समस्यै समस्याले जर्जर भएर बाँचेका विश्वभरका पुत्र वियोगी बाहरूको मनमा एउटा सुनौलो भविष्य पलाउन सकोस् । त्यसैले यो भूमिबाट सत्य पलाउनु पर्छ । वीर योद्धा सपूतहरूको जन्म हुनुपर्छ । न्याय र अन्यायको युद्धमा न्यायले जित्नु पर्छ । सत्य र असत्यको बाटोमा सत्यले मान्यता पाउनु पर्छ ।
आज रवि खुशी भएर आकाशबाट मेरो देशमा हेर्दैछ । दानवहरूलाई परास्त गरेको आफ्नै आँखाले देखी खुशी हुनु स्वभाविकै हो । त्यसैले नेपालीहरूको मनमा एउटा ठूलो खाडल प्रजातन्त्रले पुर्दैछ । भनिन्छ, प्रजातन्त्रको जगमा आपूm मेटेर अरुलाई खुशी बनाउने शहीदहरूको रगत छ । थुप्रैं यातनाहरू भोगेर जीवनमा दुःख पाउनेहरूको आँसु छ । आन्दोलनमा लागेका परिवारहरूको आ–आफ्नै कथा छ । मनमा डर र चिन्ताले बाँच्ने नेपालीहरूको व्यथा छ । त्यसैले यो स्वतन्त्रता संग्रामको युगमा युगकवि सिद्धिचरण श्रेष्ठले आपूmले भोगेका, आपूmले देखेका थुप्रै कुराहरू एउटा कलमजीवी सिद्धित्वको नाताले बाको स्मृतिमा आफ्नै जीवन तर्पण गर्दैछ । पुत्र वियोगी बाहरू, तपार्इंहरूले धेरै पुण्य कमाउनु भएको छ । तपाईको एउटा अंशले देशलाई सुन्दर, शान्त अनि समृद्ध बनाउनका लागि वीर सपूतहरूलाई जन्माउनु भएको छ । आफ्नै सन्तान नेपाल भूमिलाई चढाएर जिउँदै एउटा बाको नाताले अर्घ दिँदैछ । दुःखीहरूलाई सुखी बनाउन, भोक लागेकाहरूलाई पेटभरि खान दिन, मन जलेकाहरूको आगो निभाउन, आँसु बगेकाहरूको आँसु पुछ्न, एउटा युद्धको खाँचो छ । एउटा युद्धलाई जित्नु छ । बिगुल फुकेको बेला सबै नेपालीहरू आगोमा होमेर एकैचोटी आगो निभाउनु छ । शोषक अनि सामन्तीहरूलाई हातखुट्टा बाँधेर जनताको अगाडि नाङ्गो पार्नु छ । त्यसैले यो महापुण्य कार्यमा पुत्र वियोगी भएका बाहरूले भोलिको लागि आँखा चिम्लेर होला आज दानवहरूलाई सेलाइ सकेको छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठको जीवन उहाँहरूको लागि तर्पण हो । तृप्ती पार्नका लागि चोखो मनले अर्पेको तर्पण हो ।
भाग अरूका लुट्नेहरूको
नीद उखेल्ने हुरी बनोस्
छलले बलले ठूलाहरूको
सपना चिर्ने छुरी बनोस् !
जर्जर, शोषित, पीडित सारा
विश्वभरका पुत्रवियोगी बाहरूको
स्मृतिमा यो जीवन तर्पण होस् ।
जेल जीवन सा¥है दुःखदायी हुँदो रहेछ । शासकको हप्कीदप्की, भय र त्रासले मात्र होइन पिट्ने–चुट्ने कार्यले पनि हरेक दिन चिन्ताको ज्वाला दन्की रहन्थ्यो । यस्तो अवस्थामा युगकवि सिद्धिचरण श्रेष्ठले “आज मेरो खुट्टामा नेल सिक्री परेकोले म दुःखी छु तर यो दुःख पनि सुखको निमित्त आएको बैना हुन सक्छ” भनी आपूmले आपैmलाई नै ढाडस् दिएको देखिन्छ । यस्तो अमानवीय अवस्थामा पिता विष्णुचरण श्रेष्ठको निधनले पक्कै पनि उहाँको हृदयभित्र गम्भीर चोट पुगेको कारणबाट प्रस्तुत कविताको जन्म भएको देखिन्छ । तसर्थ अर्पण आपैmमा समर्पण हो । समर्पणभित्र पिताको काजकिरिया गर्न नपाएको व्यथा लुकेको छ । धूवाँ उडेर आगो बल्न नसकेको कथा बोकेको छ । त्यसैले मलाई किन हो कुन्नी यस्तो लाग्यो कतै भगवान्ले पनि युगकविको भाग्यमा पिताको लागि दागबत्ती दिने काम लेख्न भुलेछ ।
अस्तु !

