दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आउनुभयो । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आउनुभएको छ ।
सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उहाँमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ । घर छेउमै सुक्खा बन्दरगाह निर्माणको थालनी भएपछि यहाँका युवाले रोजगारीका लागि भारतीय सहर जानुनपर्ने बाध्यता हट्ने आशा छ । “त्यसबेला सडक, बिजुली बत्ती केही थिएन, जङ्गली जनावर र भारतीय लुटेराको डर हुन्थ्यो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “यसरी घर छेउमै सुक्खा बन्दरगाह निर्माण होला भनेर सोच्न पनि सकेका थिएनौँ ।” दोधारा चाँदनीमा बन्दरगाह निर्माणका लागि रुख कटानको काम सुरू भएको छ । बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको गड्डाचौकीबाट सुक्खा बन्दरगाह निर्माणस्थलसम्म छ लेनको सडक बनेको छ ।
उहाँका छोरा महाकाली चार लेन पुल निर्माण कम्पनीको टिपर चलाउँथे । पुलको काम सम्पन्न भएपछि अहिले घरमै बेरोजगार छन् । बन्दरगाह निर्माण सुरू भएपछि छोराले पुनः घर नजिकै रोजगारी पाउने आशा उहाँको छ । “बन्दरगाह बनेपछि घर नजिकै हामीले पनि रोजगारी पाउने आशा गरेका छौँ”, उहाँले भन्नुभयो, “धेरै पहिलादेखि बन्छबन्छ भन्थे अहिले बन्दरगाह निर्माणका लागि रुख कटान गर्न थालेपछि यहाँका स्थानीयमा रोजगारी पाउने आशा जागेको छ ।” उहाँले महाकाली नदीमा पुल र चाँदनीसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँको मुहार परिवर्तन भएको बताउनुभयो । “दुई बिघा जग्गा छ, पहिलेको जस्तो उत्पादन पनि हुँदैन”, खड्काले भन्नुभयो, “बन्दरगाह निर्माणले यहाँको आर्थिक अवस्था परिवर्तन होला भन्ने पर्खाइमा छौँ ।”
यहाँ सुक्खा बन्दरगाह बन्ने भएपछि दोधारा चाँदनीको स्वरूप परिर्वतन भएको छ । “विगतमा महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो,” चाँदनीका स्थानीय नीरज भट्टले भन्नुभयो, “पक्की पुल र सुक्खा बन्दरगाह बन्ने भएपछि आवतजावतमा सहज त भयो नै जग्गाको मूल्यवृद्धि र रोजगारीको बाटा खुलेका छन् ।” दोधारा चाँदनीका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता रहेको बताउँदै सुक्खा बन्दरगाह बनाउँदा स्थानीयलाई रोजगारीको सबैभन्दा ठूलो आशा रहेको उहाँको भनाइ छ ।

