लक्ष्मण उप्रेती
१३६औं मई दिवसमा यसको सारपक्षलाई आत्मसात् गरौं !
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाऔं !!
सामन्तवादको अन्त्य हुनेक्रमसँगै उन्नाइसौं शताब्दीको सुरुवातदेखि युरोप-अमेरिकामा भएको विज्ञान-प्रविधि र उद्योगधन्दाको अभूतपूर्व विकासले गर्दा वस्तु उत्पादनमा गुणात्मक वृद्धि भयो । यो पूँजीवादको एउटा ठूलो उपलब्धि थियो । तर प्रत्यक्ष श्रम गरी उत्पादन गर्ने मजदुर वर्गलाई विकासको यो प्रतिफल उपभोग गर्नबाट वञ्चित गरी पूँजीपतिहरूले एकाधिकार जमाए । त्यसका विरुद्ध उद्योगमा समूहको रुपमा रहने मजदुरहरु संगठित हुनपुगे । फ्रान्स र जर्मनीजस्ता विकसित देसमा चलेका मजदुर वर्गका १८४८ का क्रान्तिहरुको उल्लेख्य परिणामस्वरुप १८७१ मा फ्रान्समा पेरिस कम्युन बन्यो । त्यसको विश्वव्यापी प्रभावसँगै अमेरिकी मजदुर वर्गमा तीव्ररुपमा वर्गीय जागरण ल्यायो । पूँजीपतिहरूको चर्को शोषणमा परेका अमेरिकी मजदुर वर्गले आफ्नो काम गर्ने समय घटाई ८ घण्टा गराउन सन् १८७६ मा संघर्षमा उत्रे । पूँजीपति वर्गको अमेरिकी सरकारले यो मागप्रति चासो नदिएको हुँदा त्यो पूरा गराउनको निम्ति १८८६ को १ मेमा अमेरिका र कनाडाका मजदुरहरूले आफ्ना औद्योगिक प्रतिष्ठानहरूमा हडताल गरी जुलुस प्रदर्शनमा ओर्लिए । यो हडताल र जुलुस प्रदर्शनले अमेरिकी पूँजीपति र सरकारको सातो उडायो र पूँजीवादी राज्यसत्ताले मजदुर वर्गमाथि गोलीको वर्षा गर्यो । शिकागोका मजदुरहरूमाथि भएको गोली वर्षाले कैयौं मजदुरहरू सहिद भए भने कैयौं घाइते भए । पक्राउ परेकामध्ये केहीलाई शुलीमा चढाएर सहिद बनाए । यति हुँदापनि मजदुरहरु आफ्नो अडानबाट टसमस भएनन् । अन्तमा मजदुर वर्गको संगठित शक्ति सामु अमेरिकी पूँजीपति वर्ग र सरकार झुक्न वाध्य भयो र कामको समय दिनमा आठ घण्टा कायम भयो ।
अमेरिकी मजदुर वर्गको शहीदको रगतले सफलता पाएको विजयको सन्देश संसारभर फैलियो । विश्वभरका समाजवादीहरु र मजदुर युनियनका प्रतिनिधिहरू फ्रान्सको पेरिसमा सन् १८८९ जुलाई १ तारिखमा भेला भई अन्तर्राष्ट्रीय सम्मेलन गरे । त्यसबाट सहिद मजदुरहरूको सम्मानमा मे १ को दिनलाई संसारभर मजदुर दिवसको रुपमा मनाउने घोषणा भयो । तत्पश्चात् हरेक वर्ष मे १ को दिनलाई मजदुर दिवस वा श्रमिक दिवसको रुपमा मनाइन्छ ।
हाम्रो देशमा सन् १९३६ (वि. सं. १९९२/९३) बाट विराटनगरमा जुट मिल आदि उद्योगहरूको स्थापनापछि उद्योगहरूका मजदुरहरूले वि. सं. २००३ सालमा मजदुर वर्गको ज्याला वृद्धि र ट्रेड युनियन गठन गर्ने अधिकारलगायतका मागहरु लिएर इतिहासमा पहिलो पटक हडताल गरे । यस हडतालले मजदुर वर्गमा राजनीतिक चेतना समेतको विकास र विस्तार गर्यो र काठमाडौं र वीरगन्जका मजदुरहरु पनि राजनीतिक अधिकारका मागसहित संघर्षमा उत्रे । यसैक्रममा औद्योगिक मजदुरहरूको सचेत र संगठित अग्रदस्ताको रुपमा रही आन्दोलनको नेतृत्व गर्ने शक्ति नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने पहल २००६ मा कमरेड पुष्पलालको नेतृत्वमा भयो । मजदुर वर्गको आफ्नै पार्टी नेकपाको स्थापना पश्र्चात् नेपाली मजदुर वर्गले पनि अन्तर्राष्ट्रीय मजदुर दिवस मे १ मा मनाउन थालेको हो ।
संशोधनवादी र पुंजीवादीहरुले मई दिवसलाई सबथोक प्राप्तिको दिवसका रुपमा बुझ्छन् र यसको रुपपक्षलाई बढावा दिई नाराजुलुस र भीषणभाषण गर्नमै सिमित हुन्छन् । तर क्रान्तिकारी मजदुर र कम्युनिस्टहरुले मई दिवसलाई यसको सार पक्ष अर्थात् मजदुरवर्गको शोषण-दमनबाट पूर्ण मुक्तिको लागि संगठन र संघर्ष खासगरी वर्गसंघर्षलाई सशक्त र निर्णायक बनाउनको निमित्त प्रतिबद्ध र कटिबद्ध हुने दिवसका रुपमा बुझ्छन् र सोअनुसार गर्दछन् । विश्वसमाजवादी आन्दोलनमा अहिले संशोधनवाद हावी हुंँदा मजदुर आन्दोलनसँगै कम्युनिस्ट आन्दोलनमा पनि संघर्षको चेत र आन्दोलन कम तर वार्ता र वार्गेनिङको प्रवृत्ति हावी भएर मजदुरहरु आफ्नो तलव र सुविधाजस्ता सुधारवादी मागहरुमा सिमित हुने अवस्था छ । यसले गर्दा मजदुर वर्ग र आन्दोलनमा विचलन र विभाजन आएको छ । यो अवस्थामा मई दिवस मनाउनुको सार्थकता विश्वमजदुर आन्दोलनमा त्याग, तपस्या र बलिदान समेत गरेका मजदुरवर्गको पूर्ण र स्थायी मुक्तिका लागि पुँजीवादी जनवादी क्रान्तिपछि समाजवाद-साम्यवादको निम्तिको संघर्षमा केन्दृत हुनुमा रहेको छ । यसनिम्ति नेपालका मात्र होइन संसारका मजदुरहरु एकताबद्ध हुने, देसका सच्चा मजदुर वर्गीय शक्तिहरु एकीकृत हुने र तिनको नेतृत्वदायी शक्तिको रुपमा क्रान्तिकारी कम्युनिस्टहरु एकीकृत र ध्रुवीकृत हुने र त्यसको मातहतमा सम्पूर्ण वर्गीय, जातीय, लिङ्गीय र समुदायगत शोषण उत्पीडनलाई समाप्त गर्नु जरुरी छ । देसको एक जिम्मेवार शक्ति हुनुको नाताले अखिल नेपाल कम्युनिस्ट पार्टीले यो मान्यता दृढतापूर्वक अवलम्बन गर्दै आएको छ । त्यसैले हाम्रो पार्टी १३६औं मई दिवसका सन्दर्भमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुलाई एउटै झण्डामुनि गोलबन्द हुन र मजदुर वर्गलगायत सम्पूर्ण शोषित पीडित वर्ग र समुदाय र राष्ट्रको सच्चा मुक्ती दिलाउने बाटो- वर्गसंघर्ष र व्यवस्था- समाजवाद-साम्यवादलाई अवलम्बन गर्दै क्रान्तिकारी आन्दोलनमा अघि बढ्न हार्दिक आह्वान गर्दछ ।
अन्तमा २०२५ को अन्तर्राष्ट्रीय मजदुर दिवसको यस अवसरमा मजदुर वर्गको हकहितका निम्ति सहिद हुनु भएका सम्पूर्ण वीर मजदुर शहीदहरूप्रति हाम्रो पुनर्गठित क्रान्तिकारी कम्युनिस्ट पार्टी अखिल नेपाल कम्युनिष्ट पार्टी हार्दिक सम्मान र सलाम गर्दछ र उहाँहरुले देखाएको क्रान्तिकारी बाटोमा अघि बढ्ने प्रण गर्दछ ।
लक्ष्मण उप्रेती
महासचिव(अखिल नेपाल कम्युनिष्ट पार्टी)

